कैद र जरिवानाबापतको १५ करोड ४७ लाख असुल हुन बाँकी

  • प्रकाशित मितिः असार 28, 2075
  • 25 पटक पढिएको
  • नवराज कट्टेल

विराटनगर/ अदालतबाट फछ्र्योट मुद्दाबापत बुझाउनुपर्ने जरिवानाको रकम फछ्र्योटमा समस्या देखिएको छ ।

जिल्ला अदालत मोरङबाट फछ्र्योट मुद्दामार्फत् उठ्नुपर्ने ठूलो रकम अझैसम्म फछ्र्योट हुन नसकेको देखिएको हो । जिल्ला अदालत मोरङबाट मात्रै फछ्र्योट मुद्दाबापत १५ करोड ४७ लाख २६ हजार २ सय ९३ रुपैयाँ उठ्नुपर्ने देखिन्छ ।

जिल्ला अदालत मोरङका प्रमुख जिल्ला न्यायाधीश राजुकुमार खतिवडाका अनुसार कैद र जरिवानाको सजाय आदेश भएका मुद्दाबापतको ठूलो रकम उठाउन सकिएको छैन । बुधबार चालु आर्थिक वर्षमा जिल्ला अदालत मोरङबाट मुद्दातर्फको फछ्र्योट विवरण सार्वजनिक गर्दै प्रमुख जिल्ला न्यायाधीश खतिवडाले सजाय तोकिएका व्यक्तिहरू नियन्त्रणमा पर्न नसक्दा ठूलो रकम फछ्र्योट हुनुपर्ने देखिएको बताएका छन् ।

अपराधमा सजाय तोकिएका व्यक्तिले ५ हजार ६४ वर्ष १ महिना २१ दिनको कैद भुक्तान गर्नुपर्ने देखिन्छ । १ वर्षको अवधिमा १ हजार १ सय ७९ वर्ष १ दिनको कैद भुक्तान गर्नुपर्ने व्यक्तिमार्फत् १ करोड ९९ लाख ५२ हजार ३ सय १९ रुपैयाँ असुली गरिएको न्यायाधीश खतिवडाले जानकारी दिएका हुन् ।

अदालतले विशेष अभियानमार्फत् १ वर्षको अवधिमा १ सय ९६ जना व्यक्तिमार्फत् ५३ लाख ६६ हजार ६ सय ९९ रुपैयाँ असुली गरेको हो । त्यस्तै, १ सय ८ वर्ष ३ महिना २१ दिन कैद भुक्तान गराउन सफल भए पनि अझै कैद र जरिवाना रकम फछ्र्योटको अवस्था न्यून देखिएको छ ।

मोरङ जिल्ला अदालतमा १ वर्षको अवधिमा ४ हजार २ सय ६० नयाँ मुद्दा दर्ता भएका छन् । त्यसबाहेक जिम्मेवारी सरेर आएका २ हजार २ सय १३ मुद्दा समेत थिए । नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएका ६ हजार ४ सय ७३ मुद्दामध्ये ३ हजार ८ सय ९४ मुद्दा फछ्र्योट भएको प्रमुख जिल्ला न्यायाधीश खतिवडाले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

विभिन्न तहको निर्वाचन लगायतको प्रभावका कारण पनि ६० प्रतिशत मुद्दा फछ्र्योट भएको उनले बताएका छन् । अहिले अदालतमा १८ महिना नाघेका २ सय ४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । अदालतले मेलमिलापबाट १ वर्षमा १ सय ६१ मुद्दाको फछ्र्योट गरेको तथ्यांक छ ।

निरन्तर सुनुवाइ गर्नुपर्ने ३ सय ५४ मुद्दा अदालतमा दर्ता भएकामा १ सय ८३ मुद्दा फछ्र्योट भएका छन् भने बाल इजलाससँग सम्बन्धी २८ मुद्दामध्ये २१ फछ्र्योट भएको खतिवडाले बताएका हुन् । अदालतले फैसला कार्यान्वयनतर्फका ८ सय ६७ मुद्दामध्ये ५ सय ९९ मुद्दा कार्यान्वयनमा ल्याएको छ भने २ सय ६८ विचाराधीन रहेको बताइएको छ ।

अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पत्तिसँग सम्बन्धित छन् । १ वर्षको अवधिमा १ हजार ७५ अंशसँग सम्बन्धित मुद्दामध्ये ५ सय ८६ मुद्दा फछ्र्योट भएका छन् । त्यससँगै सम्बन्ध विच्छेदका ८ सय ६६ मुद्दा दर्ता भएकोमा ६ सय ७७ मुद्दा फछ्र्योट भएको दुलालले जानकारी दिए । माना चामलकै मुद्दा समेत ३ सय ५१ मध्ये १ सय ७९ फछ्र्योट भएको देखिन्छ ।

घरेलु हिंसाका ७६ मध्ये ३७ मुद्दा फछ्र्योट भएका छन् भने लागु औषधका २ सय ८८ मुद्दामध्ये २ सय २३ मुद्दा फछ्र्योट भएका छन् ।

दुलालका अनुसार जबर्जस्ती करणीका १ सय ५८ मध्ये ९६ मुद्दा, मानव बेचबिखन तथा ओसार–पसारका १० मुद्दामध्ये ४ मुद्दा, अपहरण तथा शरीर बन्धकका ७ मुद्दामध्ये २ मुद्दा, बहुविवाहका ३२ मध्ये २१ मुद्दासहित सरकार वादी मुद्दाहरू ४ सय ९० मध्ये ३ सय ४३ मुद्दा फछ्र्योट भएका छन् ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved