गाडी किन्ने रकमले एम्बुलेन्स

  • प्रकाशित मितिः असार 25, 2075
  • 207 पटक पढिएको

गाउँपालिका प्रमुख मोटरसाइकलमा
मनोज पौडेल
कपिलवस्तु / सामान्य पहिरन । कुनै तडकभडक छैन । पदमा पुगे पनि सर्वसाधारणजस्तै देखिन्छन् । सानाठूलालाई सरोवरी व्यवहार गर्छन् शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ । जिल्लामा गाडी नचढ्ने उनी एक्ला स्थानीय तह प्रमुख हुन् ।
योजना अनुगमन गर्न मोटरसाइकलमा जाँदै कपिलवस्तुको शुद्धोदन गाउँपालिका प्रमुख निसारअहमद खाँ । तस्बिर स् मनोज

मोटरसाइकल चढेर गाउँपालिकाको काम सम्हाल्दै आएका छन् । यहाँका १० स्थानीय तहमध्ये उनी मात्र मोटरसाइकल चढ्छन् । ६ नगर र ३ गाउँपालिका प्रमुखरअध्यक्ष वातानुकूलित गाडी चढ्छन् । कतिपय उपमेयररउपाध्यक्षले गाडी सुविधा लिएका छन् ।

स्थानीय तहका प्रशासकीय अधिकृतलाई गाडी सुविधा छ । धेरै तहले गाडी भाडामा लाखौं खर्च गरिरहेका छन् । ‘गाडी आवश्यक ठान्दिनँ,’ अध्यक्ष खाँले भने, ‘त्यो सोख हो । जनताको करले सोख पूरा गर्नु उचित लागेन ।’ उपचार नपाएर गाउँलेले अकालमा ज्यान गुमाउन परिरहेकाले गाडी सुविधा लिनुभन्दा एम्बुलेन्स खरिदलाई प्राथमिकता दिएको उनले बताए । ‘गाउँपालिका सभामा सबैले गाडीका लागि बजेट छुटयाउन दबाब दिएका थिए तर मैले मानिनँ,’ उनले भने, ‘त्यसपछि १५ लाख बजेटमा छुटाइयो ।’ त्यसमध्ये ११ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरियो । बाँकी रकमले एम्बुलेन्स राख्न ग्यारेज बनाइयो । १ महिनायता एम्बुलेन्स सञ्चालनपछि गाउँले पनि खुसी छन् । भाडा अन्यको भन्दा आधा सस्तो छ ।

बिहान साढे ९ बजे खाना खाइवरी लु१३प ६५३६ नम्बरको मोटरसाइकल चलाएर गाउँपालिका पुग्छन् । शुद्धोदन ६, महादेवाबाट आधा घण्टामा कार्यालय पुग्छन् । कामको चाप हेरेर २ देखि ३ घण्टा कार्यालय बस्छन् । त्यसपछि विकास निर्माण योजना अनुगमनमा जान्छन् । प्रशासकीय अधिकृत प्रेम खनाल उनको मोटरसाइकलको पछाडि बस्छन् । सम्बन्धित वडाध्यक्ष र सदस्यलाई सँगै लिएर उनी अनुगमन गर्छन । उनी सामान्य लेखपढ गर्न सक्छन् । ०४८ को स्थानीय निर्वाचनमा साबिक बाँसखोर गाविसको उपाध्यक्ष र ०५४ मा अध्यक्षमा निर्वाचित भएका थिए ।

मोटरसाइकलभन्दा माथिका सवारीसाधन चढ्ने आफनो हैसियत नभएको उनले बताए । गाउँसभाले मासिक ६० लिटर पेट्रोल सुविधा दिएको छ । तर, निर्वाचित भएदेखि १ लिटर पनि लिएका छैनन् । ‘नाजायज सुविधा लिनुभएन,’ उनले भने, ‘घरको खेतबारीले खान पुगेकै छ ।’ आफूले सुविधा लिए अन्य पदाधिकारीको पनि ध्यान त्यतै जाने उनी बताउँछन् ।

‘एक्लैले सुधार गर्छु भनेर हुँदैन,’ उनले भने, ‘सबैले सहयोग गरे त्यो असम्भव पनि छैन ।’ विकास समान अधिकार भएको देखाउन उनले प्रत्येक वडालाई २ करोड २५ लाख रुपैयाँका योजना बनाउने अधिकार सुम्पिएका छन् । उपाध्यक्ष सुधादेवी पाण्डेलाई पनि ८३ लाख रुपैयाँका योजनाका लागि बजेट छुट्याएको उनले बताए । ‘सबैको अपनत्व भयो भने विकासको अनुभूति हुन्छ,’ उनले भने, ‘त्यही भएर काखापाखा नगरी बजेट विनियोजन गरेको छु ।’ चालु आर्थिक वर्षमा गाउँपालिकाले १८ करोड रुपैयाँमा २ सय ७५ योजना सञ्चालन गरेको थियो । ९० प्रतिशत योजना पूरा भइसकेका छन् ।

‘विकासप्रतिको लगाव अध्यक्षमा अत्यधिक छ,’ प्रशासकीय अधिकृत खनालले भने, ‘व्यक्तिगत र दलगत स्वार्थ नहँुदा काम गर्न सजिलो भएको छ ।’ पछिल्लोपटक राष्ट्रिय जनता पार्टीमा रहेका उनी आफ्नो दलले स्थानीय निर्वाचन बहिष्कार गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । ‘म स्वतन्त्र छु,’ उनले भने, ‘कुनै पार्टीमा नगई काम गरेर जनताको मन जित्छु ।’ फरक दलको भए पनि अध्यक्षको सहयोगी भावनाले सिंगो गाउँपालिकामा विकासले तीव्रता पाएको उपाध्यक्ष सुधादेवी पाण्डेले बताइन् ।
पाण्डे कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । (स्रोत– ईकान्तिपुर )

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved