गौरवका आयोजनालाई बजेट अभाव

  • प्रकाशित मितिः असार 21, 2075
  • 66 पटक पढिएको
  • मधेश स्पेशल

धरान/ दिगो महत्वका योजनाहरूलाई नगरको गौरवको आयोजनामा समेटेर धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको भए पनि गौरवका आयोजनालाई भने कम रकम छुट्याएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को लागि धरानले १ अर्ब ८० करोडको बजेट सार्वजनिक गरे पनि नगरको गौरवका आयोजनालाई भने मात्र ७ करोड विनियोजन गरेको छ । गौरवका ती आयोजनाहरू पनि अधिकांश चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका क्रमागत योजनाहरू नै हुन् । नगरको गौरवको आयोजना भनेर कुल २२ वटा योजनाहरू छनोट गरिएको भए पनि बजेट अभावले ७ वटालाई मात्र बजेट, नीति तथा कार्यक्रममा समावेश गर्न सकिएको उपमहानगरपालिकाले जनाएको छ । ‘बजेट, स्रोतकै कमी भयो, नत्र हामीले नगरको दीर्घकालीन विकासमा प्रभाव पर्ने गौरवका अन्य आयोजनाहरू समेट्ने सोच थियो । त्यो सम्भव भएन’, उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘केन्द्रबाट बजेट आए पनि सशर्त आउछ, हामीले चाहे अनुसारको आयोजनामा बजेट राख्न पाएनौं ।’

उपमहानगरले जनतासँग प्रत्यक्ष सरोकार भएका योजनाहरूलाई वडास्तरीय योजनामा राखेर बजेट सिधै वडामा पठाउने गर्छ । यस्तै, नगरस्तरीय योजना र प्रशासनिक खर्चमा पनि बजेट विनियोजन गर्नुपर्छ । कतिपय क्रमागत योजनाहरूलाई बजेट राख्नैपर्ने र केन्द्रबाट आएको बजेट सशर्त अनुदान भएकाले स्थानीय तहले आफुखुशी चलाउन पाउँदैनन् ।

नगर गौरवका आयोजनामा धरान–१६ स्थित जनपथ सडक निर्माण, धरान–१४ को विजयपुर सडक निर्माण, धरान २ र ३ को माछाभौडी पार्क निर्माण, धरान–८ को नमुना बस्ती निर्माण, धरान–२ को देशीलाइन सडक निर्माण, धरान–१७ रेल्वेचोक व्यवस्थापन र वडा नम्बर ११, १७, १८ मा पर्ने हङकङ रोड सडक बिस्तार तथा निर्माण योजना समावेश गरिएको छ । यी आयोजनामध्ये रेल्वे चोक व्यवस्थापन र हङकङ रोड बिस्तार योजनाबाहेक बाँकी सबै चालु आर्थिक वर्षमा पनि सञ्चालनमा रहेका योजनाहरू हुन् ।

आगामी आर्थिक वर्षमा जनपथ र विजयपुर सडक निर्माणको लागि २÷२ करोड, माछाभौडी पार्कलाई ५० लाख, नमुनाबस्तीलाई ८० लाख, देशीलाइन सडकलाई ४० लाख, रेल्वे चोकलाई ९० लाख र हङकङ रोडलाई ४० लाख बजेट विनियोजन गरिएको छ । शहरी पूर्वाधार विकास महाशाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठ आगामी वर्षमा थुप्रै क्रमागत योजनालाई बजेट विनियोजन गर्नुपरेकाले गौरवका आयोजनाहरूमा अपेक्षा गरेजस्तो बजेट समावेश गर्न नसकिएको बताउँछन् ।

अर्काे बजेटमा गौरवका आयोजनालाई प्राथमिकता
अर्को आर्थिक वर्षमा क्रमागत योजनाहरू ज्यादै थोरै मात्र हुने भएकाले त्यसबेला चाहेजस्ता गौरवका आयोजनालाई शुरुवात गर्न सकिने उनी बताउँछन् । ‘चालु आर्थिक वर्षमा साढे ३ करोड जतिको मात्र क्रमागत योजना थियो, तर आगामी आर्थिक वर्षमा साढे १४ करोड त क्रमागत योजनामा नै राख्नुपर्ने भयो,’ उनले भने, ‘अर्को पटक यस्तो हुदैन ।’

के के छन् गौरवका आयोजनामा ?
नगर गौरवको आयोजनामा धरानका कुल २२ वटा ठुला योजना छनोट भएका छन् । तर, आगामी वर्षको लागि भने मात्र ७ वटा योजना बजेट, नीति तथा कार्यक्रममा समावेश भएका छन् । अन्य योजनाहरू पनि धरानको समग्र दीर्घकालीन विकासमा असर पार्ने महत्वपूर्ण योजनाहरू छन् । शहरी पूर्वाधार विकास महाशाखाका अनुसार धरान–३ स्थित पालिका बजार निर्माण, धरान–८ स्थित सभागृह पुनःनिर्माण, धरान–८ स्थित बसपार्कसहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना महत्वपूर्ण गौरवका आयोजनामा पर्छन् ।

तर, बजेट अभावले यी आयोजनालाई यसपटक बजेट, नीति तथा कार्यक्रममा उपमहानगरले समेट्न सकेन । यद्यपि, यी आयोजनाहरूलाई नगर विकास कोष र प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरेर भए पनि शुरु गर्ने उपमहानगरको भनाइ छ ।

यस्तै, धरान–१६ स्थित भूमि पार्क, खहरे खोला करिडोर, धरान–१३ मा हेल्थ पार्क तथा मिनी मार्केट निर्माण, धरान–११ र २० मा विष्णुपादुका मार्ग निर्माण, धरान–१२ र ११ मा चतरालाइन सडक बिस्तार, सर्दु–सेउती खोला करिडोर (आन्तरिक रिङरोड), मुख्य सडकमा अव्यवस्थित तार व्यवस्थापन, धरान–१५ मा झण्डा पार्क पनि नगरको गौरवको आयोजनामा समावेश छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved