हरेक प्रदेशमा गुणस्तरीय अस्पताल स्थापना गर्न जरुरी : परराष्ट्र मन्त्री ज्ञवाली

  • प्रकाशित मितिः जेठ 21, 2075
  • 87 पटक पढिएको
  • मधेश स्पेशल

ललितपुर/ हरेक प्रदेशमा गुणस्तरीय अस्पताल स्थापना गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । त्यसो गर्न सकिए स्थानीय स्तरमै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै वर्षेनी उपचारका नाममा विदेशिने गरेको अरबौं रुपैयाँ जोगिने उनको धारणा छ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको पहिलो वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको सुनेको छु । यस्ता अस्पताल हरेक प्रदेशमा हुने हो भने उपचारका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो र अरबौं नेपाली रुपैयाँ जोगिन्थ्यो।’

अहिले भारत, सिंगापुर लगायतका देशमा नेपालीहरु स्वास्थ्य सेवा खोज्दै पुगिरहेको बताउँदै यस अस्पतालले त्यो क्रमलाई केही हदसम्म रोक्ने विश्वास उनले दिलाए । उनले भने, ‘यस्ता अस्पताल नेपालमै खुल्दा गुणस्तरीय स्वास्थ्य सेवाका लागि विदेश भौतारिनु पर्दैन।’

मन्त्री ज्ञवालीले उपचार सेवा सँगसँगै जनचेतना जगाउनुपर्नेमा जोड दिए । ‘हामीकहाँ क्यान्सरको पहिचान तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै हो । सुरुवाती अवस्थामै क्यान्सरको पहिचान हुने गरी जनचेतना जगाउन सकिए धेरैले अकालमै ज्यान गुमाउनुपर्ने थिएन,’ उनले भने।

कार्यक्रमा बोल्दै लालितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले अस्पताल ललितपुर महानगरपालिकाको गहना भएको बताइन् । यसका लागि महानगरका तर्फबाट सहयोग गर्न आफू तयार रहेको बताइन् । उनले भने, ‘सुलभ शुल्कमा उपचार साथै यो क्षेत्रका बासिन्दामा जनचेतना फैलाउन अस्पताल लागि पर्नुपर्छ । त्यसका लागि हातेमालो गर्न महानगर तयार छ ।’ उनले ललितपुर महानगरका हरेक वार्डमा महिलालाई हुने क्यान्सर सम्बन्धि जनचेतना जगाउने विषयमा अस्पतालसँग सहाकार्य गर्न सकिने बताइन्।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई उक्त अस्पताल कुनै विदेशका राम्रा अस्पताल भन्दा कम नरहेको बताए । उनले भने, ‘विदेशमा उपचार सेवा लिन जानेहरु यो अस्पताल आउन थालेको सुनिएको छ । नेपालीका लागि यो गौरवको विषय हो।’

कायक्रममा नेपाल क्यासर अस्पताल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भविष्यमा अस्पताललाई रिसर्चमा समेत समाहित गर्ने बताए । उनले भने, ‘उपचार र जनचेतनाका लागि स्थानीय रुपमा अध्ययन जरुरी हुन्छ । हामी त्यसमा केन्द्रीत हुन गइरहेका छौं।’

क्यान्सरको उपचारको लागि विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौतिी नेपालमै गुणस्तरीय उपचार गरिरहेको उनले बताए अस्पतालले फोहर व्यवस्थापन र संक्रमण न्युनिरकरणलाई सुरुवाती दिनदेखि नै प्राथमिकतामा राखेको उनले जानकारी दिए।

उनले भने, ‘गुणस्तरीय सेवाका लागि अस्पतालले मेडिकल उपकरण, दक्ष जनशक्ति र अस्पताले दिने सेवामा कुनै सम्झौता गरेका छैनौं,’ उनले भने।

वार्षिक उत्सवको अवसरमा सेवाअवधि एक वर्ष नाघेका २ सय २० जना कर्मचारीलाई स्थायी गरेको छ भने प्रत्येक वर्ष गे्रड थप्ने जनाएको छ । कार्यक्रममा विभिन्न कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो।

अस्पतालबाट सरकारले तय गरेको एक लाखसम्मको खर्चको छुट पाउने बिरामी १६ सय १७ रहेको बताइएको छ । आव २०७३÷२०७४मा १९ सय ५३ जना बिरामीको शल्यक्रिया र तीमध्ये एक हजार ३७ को मेजर शल्यक्रिया र ९ सय १६ माइनर शल्यक्रिया गरिएको जानकारी अस्पतालले दिएको छ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट गुप्रको साझेदारीमा काठमाडौँ, ललितपुर, सिधुपाल्चोक, गोरखा, कास्की, पाल्मा, रुपन्देही, लमजुङ जिल्लामा गरी १५ वटा निःशुल्क स्वास्थ्य शिविर गरिएको र जहाँबाट करिब १० हजार व्यक्तिहरुले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। -स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved