सर्वसाधारणको करोडौं डुब्यो, अर्वौ रुपैया जोखीममा

  • प्रकाशित मितिः जेठ 21, 2075
  • 96 पटक पढिएको
  • मधेश स्पेशल

इटहरी/ गैरकानुनीरुपमा वित्तिय संस्थाले जसरी बचत संकलन तथा लोन प्रवाह गर्दै आएका सुन चाँदी व्यवासायीका कारण फेरि सर्वसाधारणको करोडौं रुपैया डुबेको छ । इटहरी –२० तरहरा स्थित सिंहदेवी ज्वेलर्समा सर्वसाधारणले जम्मा गरेको करिब १५ करोड रुपैंया फिर्ता नगरेको भन्दै सर्वसाधारणले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

दुई सय भन्दा वढि सर्वसाधारणवाट ज्वेलरीले गैरकानुनीरुपमा बचत गरेको करोडौ रकम फिर्ता नगरेको भन्दै उनीहरुले बचत फिर्ताको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । सयौंको संख्यामा इलाका प्रहरी कार्यालय इटहरी आएका उनीहरुले दिपक विश्वकर्मा, कमल विश्वकर्मा , कृष्ण विश्वकर्मा , निरकुमारी विश्वकर्मा , हितमान विश्वकर्मा , सिता विश्वकर्मा , सम्झना विक र निल कमला विकको नाममा किटानी जाहेरी दिएका छन् ।

ज्वेलरीका मुख्य संचालक दिपक विक भएपनि अन्य पारिवारीक नातेदार समेत बसेर सर्वसाधारणवाट करोडौं रुपैंया बचत लिएको पुष्टि हुने कागजात रहेको भन्दै उनीहरुसमेत लाई पक्राउ गरी कारवाही गर्न र उनीहरुको जायजेथावाट बचत फिर्ता दिलाउन माग गरीएको छ ।

ज्वेलरी संचालकले गैरकानुनी वित्तिय कारोवार गरेको सुचना पाउने केहि राजनितिक दलका नेता र संगठित समूह बनाएर हिड्नेहरुलाई दिएको पैसा फिर्ता नदिदा पनि सर्वसाधारणको फिर्ता गर्न समस्या भएको बताईएको छ । सर्वसाधारणवाट लिएको करोडौं रुपैंया मध्ये आधा जसो उनले आफ्ना बहिनी ज्वाई लाई दिएर उनीहरुको नाममा कारोवार गर्ने गरेको समेत पिडीतहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालयका डिएसपी शिव कुमार श्रेष्ठले पिडीतको जाहेरी आएको पुष्टि गर्दै वित्तिय अपराधमा संलग्न ज्वेलरीका संचालकहरुमाथि कानुनी कारवाहि अघि बढाउने जनाएका छन् । उनले पटक पटक इटहरी सहित आसपासका क्षेत्रमा वित्तिय अपराधका घटना सार्वजनिक भईरहेकाले गैरकानुनीरुपमा वैंकिङ कारोवार गर्नेहरुकोमा राखेको बचत फिर्ता लिन र त्यस्ता कारोबारीका विषयमा सुचना दिन पनि आग्रह गरेका छन् ।

जोखिममा सर्वसाधारणको गहना र पैसाइटहरी , धरान र तरहरा लगायतका ठाउँमा च्याउसरी खुलेका सुन पसलको मुख्य काम नै बचत संकलन र धितो कारोवार रहेको छ । गैरकानुनीरुपमा बैंकिङ कारोवार गर्ने सुन पसलका संचालकहरुले सर्वसाधारणवाट बचत गरेको पैसा र धितोमा राखेका गहना वैंकमा राखेर निकालेको पैसा जग्गा कारोवार सुन खरिदमा लगानी गर्दै आएका थिए ।

तर पछिल्लो समयमा अवैध सुन खरिदमा गरीएको लगानी डुब्यो भने जग्गा कारोवारमा गरेको लगानी पनि प्लटिङ गर्न नपाउने नितिका कारण फस्यो । जग्गा विक्री हुन छाडेपछि सुन पसलका संचालकहरुले सर्वसाधारणवाट बचत गरेको पैसा फिर्ता गर्न नसक्ने स्थिति बन्यो त्यही कारण नै पछिल्लो घटना सार्वजनिक भएको सुनचाँदी व्यवसायी वताउँदछन् ।

धरानका वैंकमा भएको घोटाला र वित्तिय अपराधविरुद्दको पछिल्लो कारवाहीसँगै पक्राउ परेर जेल गएकाहरुसँग कारोवार गर्दै आएका इटहरी , तरहरा र धरानका सुनचाँदी व्यवसायीले उनीहरुलाई दिएको पैसा र उनीहरुमार्फत राखेका गहना समेत डुबेपछि यो अवस्था आएको बुझिएको छ ।

धरानको सेन्चुरी वैंक , नेपाल बैंक र प्राईम वैंकमा भएको घोटालामा संलग्नले धरान , इटहरी र तरहरा लगायतका ठाउँका सुनचाँदी व्यवसायीवाट जम्मा गरेर वैंकमा राखेका करिव ४० करोडका गहना वैंकले जफत गरेपछि हजारौं सर्वसाधारणको गहना डुबेको छ । वैंकले धितो भन्दा कयौं गुणावढि लोन निकालेको भेटेपछि गहना जफत गरेको थियो ।

त्यसैगरी पछिल्लो पटक वित्तिय अपराध विरुद्दको कारवाहीका क्रममा सिआईवीले पुर्वकै प्रतिष्ठित हँलेसी गहना गृहका संचालकलाई पक्राउ गरी पसलसमेत सिल गरेपछि हँलेसीसँग कारोवार गर्दै आएका साना सुनचाँदी व्यवसायीको नगद र गहना गरी करिव २० करोड रुपैंया फसेको अनुमान गरीएको छ ।

सिआईवीको कारवाहीपछि कारवाहीवाट जोगिएका सुनचाँदी व्यवसायीले बचत संकलनमा प्रयोग गर्ने गरेको पासबुकको सट्टामा तमशुक प्रयोग गरी बचत उठाउन थालेका छन् । केहि सुनचाँदी व्यवसायीले भने पासबुक सर्वसाधारणवाट फिर्ता लिएर तमशुक गराउने काम गरेको पाईएको छ । इटहरी , तरहरा र धरानका केहि सुनचाँदी व्यवसायीले भने सर्वसाधारणको पैसा फिर्ता दिन आलटाल गरीरहेको पाईएको छ ।

अहिले पनि धरान , इटहरी र तरहराका सुनचाँदी व्यवासायीको मात्रै एक अर्व भन्दा वढि सर्वसाधारणको बचत वैंकर्शहरुको अनुमान छ । सर्वसाधारणले महँगो ब्याजको लोभमा सुनचाँदी व्यवसायीकोमा बचत गरेको पैसा जोखिमा रहेको बताउँदै एक वैंकर्शले बचत फिर्ता लिएर सुरक्षित बन्न सर्वसाधारणलाई सुझाव दिएका छन् । -पहिलो किताब

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved