सिरहामा खाद्य संकटको सम्भावना, घोरगधा आतंक

  • प्रकाशित मितिः बैशाख १३, २०७५
  • 393 पटक पढिएको
  • मधेश स्पेशल

दिनेश्वर गुप्ता
लहान / सिरहाको तीन दर्जन गाउंका किसानहरु लगाएको बाली जंगली जनावरले नष्ट गर्न थालेपछि कृषि उत्पादनमा कमि हुन थालेको छ । त्यस क्षेत्रमा निकट भविष्यमा खाद्य संकट हुन सक्ने भएकोले स्थानीयहरु चिन्तित छन् ।
सिरहाको फुलबरिया, मलहनिया गमहरिया, खरसलवा, मानपुर, पटेर्वा, खैरटोका, बसपिट्टा, लचकाटोल, इनर्वा, सारस्वर, चिकना भोक्राहा, कल्याणपुर, डोकहा, परचिलवा, कोरयाही, बन्दीपुरलगायतको गाउंमा जंगली जनावरले बाली नष्ट गरिरहेको छ । लहानक्षेत्रको ढोढना, मोहनपुर, हसनपुर, अमही, शोभापुर, भदैया, बसाजोरी, छर्रापट्टि नौडेगा, गाढा कडरिया, गोविन्दपुर, तरेगना गोविन्दपुरलगायतको गाउंमा निलगाई (घोरगधा), सुंगुर, बांदर, धुम्सी र हात्तीले बाली नष्ट गर्न थालेपछि किसानहरु मारमा परेका छन् ।
गाउं छेउमा रहेको नदी, वन, झांडी, खोल्साखोल्सी र फुलवारीमा बासस्थान बनाएर बस्ने गरेका निलगाई तथा जंगली जनावरहरु राती खेतमा लगाएको बाली खाईदिने गरेको छ । कृषि समूह महासंघ सिरहाका अध्यक्ष मुक्तिनारायण यादवले ‘यो समस्या दूई बर्ष पहिले दुई चार गाउंमा थियो , अहिले दर्जनौ गाउंमा फैलिएको छ ।’ ‘निकट भविष्यमा सिरहाको अधिकांश गाउंमा यस्तो समस्या आउंन सक्छ ।’ ‘यस्तो रहियो भने सिरहामा खाद्य संकट आउंन सक्छ ।’ यस्ता समस्यालाई यथाशिघ्र समयमै सरकारले नियन्त्रण गर्नुपर्ने हो ।
सिरहाको दर्जनौ गाउंमा करिब तीन बर्षदेखि बढीमा निलगाई (घोरगधा) ले बालीमा क्षति गरिरहेको छ भने कात्तिक, मंसिर, पौष, माघ, फागुन महिनामा हात्तीले केही गाउंमा क्षति पुरयाउंदै आएको छ । कमला र बलान खोलाको छेउछाउमा रहेको वन झाडीबाट आएर जंगली सुंगुरले खेतवालीमा दिउंसै उद्म (बाली भएको खेतलाई कोरकार गरेर) मच्चाउंने गरेको छ । ढोढना, मोहनपुर, तरेगना लगायतको गाउंमा बांदरले पनि बाली सखाप पार्ने गरेको छ । कहिलेकांही दुम्सीले समेत बाली नष्ट गर्ने गरेको छ ।


लहान २४ गोविन्दपुरका मनोज पासमान भन्छन् —‘पांच कठ्ठामा लगाएको आलु घोरगधाले नफल्दै बोट खाएदियो ।’ ‘पांच कठ्ठाबाट पांच किलो आलु घर ल्याउंन सकिएन ।’ कृषि समूह महासंघ लहान २४ का अध्यक्ष रामनारायण चौधरीले घोरगधा तथा जंगली जनावरको कारण दूई बर्षदेखि तरकारी खेती गर्न छाडेका छन् । चौधरीले भने ‘जनावरलाई छोयो जेल जानुपर्छ, त्यो भन्दा राम्रो लगानी खेर फाल्नु भन्दा खेती नै छाडे ।’ गोविन्दपुरमा बांस र तारको घेरा हालेर खेती गरिरहेको छ भने राती जाग्राम बसेर किसानहरु खेती गरिएपनि बेलाबखत हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ । त्यहां सिहुला डिह बनमा सयौ संख्यामा निलगाई तथा जंगली जनावर रहेको छ ।
कमला खोलाको छेउमा रहेको सिरहाको बन्दीपुरदेखि माडर खैरटोकासम्मका दर्जनौ गाउंमा त्यस खोलाको खरझाडीमा बासस्थान बनाएर बसेका निलगाई तथा जंगली जनावरले बाली सखाप पार्दै आएको छ । त्यसक्षेत्रमा लगाइने औल, भन्टा, रमझुमनी, आलु, धान, मकै, गंहु, फर्सी, लौका, खिरा, केरा, परवल, घिरा, कोदोलगायतको बाली निलगाईले खाईदिने गरेको छ । सिरहा १३ फुलवरियाका राजलाल महतो भन्छन् —‘विगतमा ५० क्वांटलसम्म कोदो उब्जाउंथे, अहिले कोदोको फल माथीमाथी नै निलगाईले टिप्ने गरेको छ ।’ खेतीपातीमा समस्या भएपछि त्यसक्षेत्रका अधिकांश युवाहरु विदेश पलायन भएका छन् । गौरीशंकर मिश्रित कृषक समूह फुलवरियाकी अन्जुकुमारी सिंह भन्छीन्—‘खेतमा काम गर्नेलाई किसान भन्छन् ।’ ‘दिनभरी काम गर्छु, राती सबै सखाप पारिदिने गर्छ ।’ अब कसरी छोराछोरीलाई पढाउंनु ? मातापिता छन् यिनीहरुलाई औषधी कहांबाट ल्याउंनु ।’ निलगाईले करेला र तिल नखाने गरेकोले त्यसक्षेत्रका किसानहरु अधिकतम त्यस्तै खेती गर्न थालेको छ । कतिले लगानी अनुरुप आम्दानी नहुंदा खेती गर्न नै छाडेका छन् ।


सिरहा १७ खैरटोका माडरमा रहेको कुशवाहा मिश्रित समुहका कृषकहरुले अधिकतम तरकारी खेती गर्छन् । वैदेशिक रोजगारबाट फर्किएका रामउदगार महतो तरकारी खेतीबाट बार्षिक ७ लाख कमाउंछन् । उनीसंग मात्र ढेड विघा खेती योग्य जग्गा छ । सत्तामा २ क्वांटल बोडी बेच्दै आएका महतोले ‘३५—३६ किसिमको तरकारी र यसमा १० किसिमको साग नै उब्जाउछु’ ‘तर, कहिलेकांही घोरगधाले हैरान पार्छ ।’ ‘चार पांच महिनादेखि हाम्रो खेतीमा समेत घोरगधाले उद्म मच्चाउंछन् ।’ दिनदिनै जंगली जनावर भित्री गाउंमा पस्ने क्रम तिब्र छ । पहिले वन तथा नदीकै छेउमा निलगाई थियो । अहिले भित्री गाउंसम्म आईपुग्ने गरेको छ ।
सिरहामा निलगाईको ‘आतंक’ बढेपछि स्थानीय किसान चिन्तमा छन् । स्थानीयले हैरानी ब्यहोरेपनि संरक्षित जनावरको व्यवस्थापनमा सरकारी निकायले पर्याप्त ध्यान भने दिएको छैन । निलगाईको ‘आतंक’ बढेपछि यहांका किसानहरु खेती गर्न नै निरुत्साहित भएका छन् । लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीले ‘जंगली जनावरले वांसको कोपर नै खाइदिन्छ ,वालीनाली त सखाप नै पार्छ ।’ ‘यसलाई नियन्त्रण गर्न वन कार्यालय पटक पटक जानकारी गराएको छु ।’ ‘खाद्य संकट नहुन दिन निलगाई तथा जनावरलाई यहांबाट अन्यक्षेत्रमा सारेर व्यवस्थापन गर्नुपर्छ ।’ ‘यसको लागि वडा कार्यालयबाट हुने सहयोग गर्न तयार छु ।’
लहान १७ की भगनी मोचीले जाडोमा सानो फुसको घर बनाएर यसमा घण्टी बाधेर दिनरात रुगे । तर, टिप्ने बेला भएपछि निलगाईले सबै सखाप बनाई दियो । समय, परिश्रम र आर्थिक लगानी ‘बालुवामा पानी’ झै भयो । ‘ल्याएको वाली पनि घरबारीमा आएर राती निलगाईले तहसनहस पार्छन् ।’ यस्तै पीडा छन् त्यहांका सितादेवी चौधरी, फुलोदेवी चौधरी, शान्ति गुप्ता, रेणु चौधरी, विमला राम, चमेली सदाय, उर्मिला चौधरीजस्ता कैयौ किसानहरुको । त्यहां गोविन्द मुरारी वनबाट जंगली जनावर आउंने गरेको कृषि अभियन्ता शिवकुमार राम बताउंछन् ।
वांदर, निलगाइले क्षति नगरोस् भनेर पहिले रातभरी खेतमा टर्चलाइट बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलागेपछि किसान रातभर खेतमै बिताउँछन् । बढ्दो बन बिनासले चरन क्षेत्र अभाव भएपछि निलगाई खेततर्फ आकर्षित भएको स्थानीयको बुझाइ छ । विनास रोकेर बन क्षेत्रलाई तारबार गरे आतंक घट्ने बताउने लहान १६ का वडाध्यक्ष गडुडबहादुर मगरले स्थानीय समस्यामा सरकारी निकाय ‘मौन’ रहेको गुनासो गर्छन् । संरक्षित जनावर निलगाईलाई करेन्ट लगाएर मार्न खोजेको भन्दै कतिपयलाई स्थानीय प्रशासनले मुद्दा लगाउने प्रयास गरेपछि किसान दोहोरो मारमा परेका छन् ।
निलगाई मान्छेको छाया हेरेर भाग्ने गर्छन् भने जंगली सुंगुरले बेलबखत मान्छेलाई लखेट्ने गरेको छ । आद्या मिश्रित कृषक समूह कल्याणपुरकी आराधाना चौधरीले ‘यस्तै रहियो भने हामी खेती गर्न छाडेर अन्य पेशा अपनाउंनुपर्ने हुन्छ ।’ ‘हंसियाले काटे जस्तै बाली काटेर तहसनहस पार्छ । कल्याणपुर क्षेत्रमा गजेन्द्र मण्डल र दीपनारायण मण्डललाई सुंगुरले टोकेर घाईते बनाएका थिए । त्यसक्षेत्रमा खैरवौनीमा निलगाई तथा जंगली सुंगुरले बासस्थान बनाएको छ । हात्ती आक्रमणबाट लहान १५ मा तीन बर्षमा तीन जनाको ज्यान लिएको छ । ज्यान जानेहरु सुरेश चौधरी, तुलसी महतो र देवनारायण चौधरी रहेका छन् । जंगली जनावरबाट बालीनाली बचाउन पासो थाप्ने, पटका पटाउने, बालीमा गोबर छर्कनेजस्ता उपाय गरिए पनि ती उपाय प्रभावकारी बन्न नसकेको अवस्था छ । बाली बीमा, सरकारी निकायबाट जंगली जनावर तथा निलगाईलाई अन्यत्र सारेर प्रभावकारी बनाउंन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved