एमाले छाड्ने निष्कर्शमा प्रभु साह संसदबाहिर रहेका कम्युनिस्टहरुसँग मोर्चाबन्दी गर्ने साहको योजना

  • प्रकाशित मितिः भदौ 28, 2078
  • मधेश स्पेशल
  • 847 पटक पढिएको

काठमाडौंमाओवादी केन्द्र छाडेर नेकपामा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाएका एमाले केन्द्रीय सदस्य प्रभु साह अन्ततः एमालेमा पनि आफू रहन नसक्ने निचोडमा पुगेका छन् । एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन नेकपामै रहँदा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका र सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भएपछि एमालेमा रहेर ओलीलाई साथ दिएका साह अब ‘वर्तमान एमाले संरचनामा बस्न नसकिने’ निर्णयमा पुगेका हुन् ।

ओलीलाई भेटेर साहले आफूले नेकपाको विचार र सिद्धान्तमा हिँड्न साथ दिएको, तर एमालेकै विचार र सिद्धान्तको निरन्तरता हुने भएमा आफू पार्टीमा नरहने निर्णय सुनाइसकेका छन्। ओलीबाट सकारात्मक जवाफ नआएपछि एमाले नै छाड्ने निष्कर्शमा पुगेको उनीनिकट एक नेताले बताए।

 

ओलीसँग असन्तुष्ट बनेपछि एमालेका बैठकहरुमा भाग लिन छाडेका साहले गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन बनाएको घोषणा गरेका थिए । त्यो घोषणा कार्यक्रममा पूर्वमाओवादी नेतासहित केही एमाले नेतासमेत सहभागी थिए । ‘सामाजिक विकृति विसंगतिविरुद्ध लड्ने’ भन्दै घोषणा गरिएको त्यो संगठनले प्रदेश २ का आठ जिल्लामा संरचना बनाएको छ । त्यसकै नाममा अहिले प्रदेशभर एमसीसीको विरोधदेखि किसानलाई मल उपलब्ध गराउनुपर्ने भन्दै सडक प्रदर्शन हुन थालेका छन् ।

‘हामी एमाले होइनौं । नेकपा हौं । नेकपा भनेरै ओलीपक्षमा गएका हौं । नेकपाको निरन्तरता नहुने भए नयाँ दल खोल्ने हुन सक्छ भनेरै आइटी आर्मीको अभ्यास गरिएको हो’, साहको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अब हामीले खोल्ने दल संविधान र अहिलेको व्यवस्थाविरोधी नीति लिएर अघि बढ्ने खालको हुनसक्छ, हामी त्यही तयारीमा छौं ।’

यसका लागि संसदबाहिर रहेका कम्युनिस्टहरुसँग मोर्चाबन्दी गर्ने साहको योजना छ । त्यसका लागि उनले छलफलसमेत अघि बढाइसकेका छन् । कम्तीमा तीन महिनाभित्र आफ्नो ने्तृत्वमा पार्टी गठन गर्नेगरी साह अघि बढेको उनीनिकट ती नेताले बताए । तर, साहले आफूले नयाँ पार्टी गठन गर्नलागेको बारे प्रतिक्रिया दिन मानेनन् । ‘अहिले सबै कुरा नभनौं, तपाईंसँग भेटेर सबै कुरा खोल्छु । फोनमा कुरा नगरौं’, काठमाडौंबाहिर रहेका साहले भने । साह अहिले प्रदेश २ का जिल्लामा केन्द्रित छन् । उनको प्रयासकै कारण अन्यत्र भन्दा प्रदेश २ मा माओवादीले अलि धेरै नोक्सानी ब्यहोर्नुपरेको छ ।

यसरी पुगे नयाँ पार्टी बनाउने मूडमा
माओवादीमा रहँदा साह लामो समय बाबुराम भट्टराईनिकट थिए । बाबुरामले माओवादी परित्याग गरेर आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गरेपछि भने साह उनको साथमा लागेनन्, माओवादीमै बसे । बाबुराम माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक रहँदै आएका साह त्यसपछि प्रचण्डसँगै नजिकिए । एमाले–माओवादी एकतापछि बनेको नेकपामा पनि उनी प्रचण्डसँगै नजिक थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी ओलीविरुद्ध उभिएका थिए । सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको र जनताको प्रतिनिधि थलो विघटन गर्नु जनताको अपमान भएको उल्लेख गरेका थिए । विघटनलगत्तै नेकपामा ओली एकातिर र प्रचण्ड–माधवकुमार नेपाल अर्कोतिर देखिए । एकले अर्को पक्षलाई निषेध र कारबाही गर्ने शृंखला चल्यो ।

प्रचण्डले नेकपा अध्यक्षको हैसियतमा अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने निर्णय गराए । तत्कालीन नेकपाभित्रको विवाद यसरी उत्कर्षमा पुगेपछि, खासगरी नेपाललाई अध्यक्ष बनाउने निर्णय भएपछि साहको असन्तुष्टि सुरु भयो । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षको पुस ७ गते बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका साहले बैठक कक्षमा उठेरै नेपाललाई अध्यक्ष बनाउन नहुने बताएका थिए ।

तर, उनको विरोधको सुनुवाई भएन । त्यही आक्रोशमा उनी पुस ९ गतेको केन्द्रीय समिति बैठकमा अनुपस्थित भए। भोलिपल्टै ९पुस १० गते० उनी एकैपल्ट सहरी विकास मन्त्रीका रुपमा सपथ लिन शीतलनिवास पुगे र ओली क्याबिनेटमा सामेल भए। उनी मन्त्री बन्दा नेकपा ओली र प्रचण्ड–नेपालपक्षमा विभाजित मात्र थियो। समानान्तर गतिविधि तीब्र बनेका थिए, तर पार्टी एउटै थियो। नेकपाको वैधानिकताको लडाइँ निर्वाचन आयोगमा थियो। साह ओलीपक्षका बैठकमा नियमित सहभागी भइरहेका थिए। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपाका दुई घटक एमाले र माओवादीलाई ब्यूँताइदिएपछि अवस्था साहले सोचेभन्दा भिन्नै हुनथाल्यो ।

उनी त्यसपछि एमालेका जम्मा दुईटा केन्द्रीय कमिटी बैठकमा मात्र सहभागी भए । बैठकका निर्णयमा पनि हस्ताक्षर गर्न मानेनन् । आफू नेकपाको निरन्तरता भनेर मात्र ओलीपक्षमा गएको, तर एमाले हुन नसक्ने बताउन थाले । यसबीचमा उनले माओवादीमा फर्कने प्रयत्न पनि गरे, त्यसका लागि नेताहरुलाई भेटे । तर, प्रचण्डबाट सकारात्मक ‘रेस्पोन्स’ नपाएपछि उनी न एमालेमा रहन सक्ने न माओवादीमा फर्कने स्थितिमा पुगे । साहनिकट एक नेता भन्छन्, ‘त्यसपछि उहाँ आफ्नै नेतृत्वमा पार्टी बनाउनुपर्छ भन्ने निष्कर्शमा पुग्नुभो ।’ – नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६