जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

  • प्रकाशित मितिः असार 25, 2076
  • धीरेन्द्र प्रेमर्षि
  • 165 पटक पढिएको

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव कामत नेपालकै सङ्गीत क्षेत्रको सबैभन्दा ठूलो र गरिमामय पुरस्कार "नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा परस्कार- २०७५" बाट विभूषित भएका छन्।

पछिल्लो समय पक्षाघातले पीडित भई साङ्गीतिक क्षेत्रबाट टाढिन बाध्य भएका जगदेव कामत प्रसिद्ध गायक/सङ्गीतकार गुरुदेव कामतका जेठा दाइ तथा प्रारम्भिक गुरु हुन्।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा आज काठमाडौँस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ एक लाख एक रुपैयाँ राशिको सो पुरस्कार प्रदान गर्नुभयो।

सो अवसरमा राष्ट्रपति भण्डारीबाट कामतका साथै नाट्य विधातर्फ श्यामदास वैष्णव, सङ्गीत विधातर्फ प्रेमध्वज प्रधान, रङ्गमञ्च विधातर्फ ओममणि शर्मा, नृत्य विधातर्फ हनी श्रेष्ठ र लोकसङ्गीत विधातर्फ प्रेमदेव गिरीले पनि जनही रु. १,००,००१/– (एक लाख एक) को प्रज्ञा पुरस्कार प्राप्त गर्नुभयो।

पुरस्कार समर्पण समारोहमा परम्परागत तथा शास्त्रीय सङ्गीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय सङ्गीत साधक कामतको साङ्गीतिक योगदानबारे प्रकाश पार्नुभएको थियो।

यसैगरी नाटककार श्यामदास वैष्णवको योगदानबारे नाट्य विभाग प्रमुख प्राज्ञ निशा शर्मा, बरिष्ठ गायक प्रेमध्वज प्रधानबारे सङ्गीत विभागका प्राज्ञ मेघराज शर्मा 'मञ्जुल',अभिनेता ओममणि शर्माबारे सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई, नृत्य निर्दशक हनी श्रेष्ठबारे नृत्य विभाग प्रमुख प्राज्ञ नमूना शर्मा र लोकगायक प्रेमदेव गिरीबारे लोकसङ्गीत विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले प्रकाश पार्नुभएको थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ 'रायन' को सभापतित्व तथा सदस्य सचिव श्यामप्रकाश तमोटको सञ्चालनमा भएको पुरस्कार समर्पण समारोहमा उपकुलपति हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको विविध पक्षमा प्रकाश पार्नुभएको थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित सो समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

को हुन् जगदेव कामत?

सिरहा जिल्लाको पोखरभिण्डा गाउँमा आजभन्दा ७५ वर्षअघि बुवा रामजी कामत र आमा बौआबती देवी कामतको ज्येष्ठ सन्तानको रूपमा जन्मनुभएका जगदेव कामतमा सानैदेखि सङ्गीतप्रति औधि आकर्षण र रुझान थियो। तर घरको दयनीय आर्थिक अवस्थाले गर्दा उहाँले विधिवत सङ्गीतको शिक्षा आर्जन गर्ने मौका पाउनुभएन। गाउँमा विद्यालय नभएकोले बाहिर कतै गई पढ्ने वातावरण र सुविधासमेत उहाँलाई प्राप्त हुन सकेन। तर गीत-सङ्गीतप्रतिको रुझानले गर्दा स्थानीय रूपमा हुने नाटक/नाचमा उहाँ जोडिँदै जानुभयो।

चाँडै नै उहाँ लोकप्रिय 'गबैया' तथा 'हारमोनियम-मास्टर' का रूपमा स्थापित हुँदै जानुभयो। त्यो यस्तो समय थियो जतिबेला गायक/वाद्यवादकहरूले शास्त्रीय सङ्गीतको जानकारी राख्नु गौरवको कुरा मानिन्थ्यो। यो गौरव उहाँलाई  गाउँकै शास्त्रीय सङ्गीतमा निष्णात एक जमीन्दार वृजदेव रायबाट सङ्गीतको शिक्षा पाएर उहाँलाई प्राप्त भयो। ध्रुपद् गायनका लागि सिङ्गो भारतवर्षमै प्रसिद्धिप्राप्त अमता (दरमङ्गा) घरानाका शिष्य बृजदेवले सङ्गीतलाई पेशा नबनाए तापनि उत्सुक र जाँगरिला युवाहरूलाई सिकाउने काम गर्नुहुन्थ्यो। यसको लाभ लिने भाग्यशालीमध्ये जगदेव कामत पनि पर्नुभयो।

समय क्रममा जगदेवको पारिवारिक भरण-पोषण गर्ने माध्यम पनि नाटक/रामलीला/नाचहरूमा गायन तथा वाद्यवादन नै हुन गयो। यस क्रममा उहाँको नाटक/नाच/रामलीला टोली जहाँ-जहाँ पुग्थ्यो, त्यस ठाउँको वा वरपरका गुणी सङ्गीतज्ञहरूको साहचर्य प्राप्त गर्ने र सङ्गीत सिक्ने मौका उहाँ गुमाउनु हुँदैनथ्यो। यही साङ्गीतिक तिर्खा र अभ्यासले उहाँलाई सङ्गीत क्षेत्रमा निरन्तर खार्दै लग्यो।

साङ्गीतिक यात्राका क्रममा अहिलेका कतिपय राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूलाई उहाँले प्रत्यक्ष/परोक्ष सङ्गीत सिकाउने काम पनि गर्नुभयो। त्यसमध्ये भाइ गुरुदेव कामतको त औपचारिक गुरु नै उहाँ हुनुभयो भने प्रसिद्ध गायक/अभिनेता मुरलीधर पनि आफूले जगदेव कामतबाट यथेष्ट लाभान्वित हुने मौका पाएको बताउनुहुन्छ। मुरलीधरका अनुसार उहाँहरूले ग्रामीण मञ्चहरूमा गाउँदाताका हारमोनियम-वादनमा जगदेव कामतजत्तिको दक्षता भएको कलाकार नेपालको तराई-मधेशमा मात्र नभई वरपरको भारतीय क्षेत्रमा पनि पाउन मुश्किल थियो। जगदेवका भाइ प्रसिद्ध गायक/सङ्गीतकार गुरुदेव कामत दाइको शास्त्रीय सङ्गीतमा दह्रो पकड रहेको बताउनुहुन्छ। गुरुदेवका अनुसार जगदेव विलम्बित, बडा खयाल जस्ता दुरूह प्रकृतिका गायनमा पनि सिद्धहस्त हुनुहुन्थ्यो।

गाउँदै-बजाउँदै कालान्तरमा उहाँ सङ्गीत प्रशिक्षणमा पनि संलग्न हुनुभयो। प्रारम्भमा वरपरका भारतीय शहरहरूमा सङ्गीत शिक्षण गर्दै आउनुभएका जगदेव पछि भाइ गुरुदेव कामतको अनुरोधमा काठमाडौँ आएर सङ्गीत सिकाउने काममा लाग्नुभयो। तर घरायसी जिम्मेवारीहरूले गाउँभन्दा धेरै टाढा बस्न अनुकूल नभएछि उहाँले आफ्नो कर्मथलो घरपायक ठाउँ उदयपुर जिल्लो गाईघाटलाई बनाउनुभयो। गाईघाटमै सक्रिय रहँदाका बखत उहाँ पक्षाघातले पीडित हुनुभयो। यसरी हाल साङ्गीतिक यात्रामा विराम लाग्नुका साथै आर्थिकलगायतका सङ्कटबाट पनि उहाँले जुध्नुपरिरहेको छ। तर अझै स्वस्थ भएर सङ्गीतमा लाग्ने तिर्खा भने उहाँमा बाँकी नै छ।

 

धीरेन्द्र प्रेमर्षि

प्राज्ञ परिषद् सदस्य

प्रमुख, परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६