२०६५ मा माओवादीसँग पार्टी एकता गरेपछि सिरहाबाट बर्दिबासमा सारिएको आधारशिला सिरहामा २ कठ्ठामा सुरु गरेकोमा अहिले १३ कठ्ठा ऐलानी जमिनमा आधारशिला रहेको छ ।

  • प्रकाशित मितिः माघ 29, 2075
  • रोयाण्टर मण्डल
  • 118 पटक पढिएको

विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलको पनि आलिसान बंगला होला । घरको गेटमा सुरक्षा गार्ड,दुई चार वटा कुकुर,नोकरचाकर,मोटरगाडी,श्रीमती,छोराछोरी,सुन चाँदी,जग्गाजमिन सान सौकतको जिन्दगी । धेरैलाई थाहा नहुन सक्छ,मन्त्री पद सम्हालेपछि पुल्चोकस्थित मन्त्रीक्वाटरमा बस्दै आएका पोखरेलको अघिपछिको स्थायी बसोबास भने महोत्तरीको बर्दिबासमा रहेको आधारशिला कम्युनमा हुने गरेको छ,जुन कम्युनसमेत ऐलानी जग्गामा छ ।

आधारशिलामा पोखरेल एउटा सामान्य र सानो कोठामा बस्छन्  २०५९ सालदेखि सुरु गरिएको आधारशिलाको १६ औं बार्षिकोत्सव विशेष समारोहका लागि बर्दिबास पुगेका बेला पत्रकारहरुलाई उनले आफ्नो कोठामा स्वागत गरे र आफ्नो स्थायी बासस्थानको परिचय गराए । मन्त्रीको कोठामा एउटा कम्युटर,टेवल,कुर्सी,टिभी,कार्पेट,एउटा दराज र खाट छ ।

आधारशिलामा मन्त्री पोखरेलसँगै अन्य १५ परिवारका ४५ सदस्य एउटै परिवार बनेर बसेका छन् । उनीहरु सबै एउटै भान्छामा खान्छन् । आवश्यक पर्ने खाद्यान्न,लत्ताकपडा तथा अन्य विविध आवश्यकता पूर्तिका लागि सामुहिक रुपमा काम गर्छन् । आवश्यक अन्न उत्पादनका गर्न भाडामा जग्गा लिएर खेती गरेका छन् । परिवारमा मन्त्री पोखरेल अभिभावकका रुपमा छन् । आधारशिलाको संस्थापक अध्यक्षसमेत रहेका उनलाई परिवारका सबै सदस्यले आफ्नो अभिभावक मानेका छन् ।

अविवाहित रहेका पोखरेलले आधारशिलामा रहेका बालबालिकाहरुलाई आफ्ना छोराछोरी मानेका छन् । उनीहरुको पठनपाठनको जिम्मेवारी पनि लिएका छन् ।  परिवारका अन्य सदस्य दाजुभाई र दिदीबहिनीका रुपमा छन् ।

के हो आधारशिला ?

आधारशिलालाई विश्वका विभिन्न देशमा कम्युनिष्टहरुले अभ्यास गर्दै आएको कम्युनको एउटा अवशेषको रुपमा लिन सकिन्छ । कम्युनिष्ट पार्टीको शासन रहेका देशहरुमा सामुहिक रुपमा बसोबास गर्ने,आवश्यकता पूर्तिका लागि सामुहिक काम गर्ने कम्युनहरुको अभ्यास गरिन्थ्यो ।

नेपालमा पनि जनयुद्धका क्रममा तत्कालीन माओवादीले आफ्ना आधार इलाका रुकुम रोल्पा लगायतका ठाँउका कम्युनको अभ्यास गरेको थियो तर ती कम्युनहरु अहिले विघठन भइसकेको छ । तर,तत्कालीन एकता केन्द्रको नीति अनुसार २०५९ सालमा सिरहाको गोलबजारमा आधारशिलाको सुरुवात गरिएको थियो । पूर्णकालीन कार्यकर्ता र सहिद परिवारका १८ जना छोराछोरीबाट आधारशिलाको सुरुवात गरिएको थियो ।

तत्कालीन एकता केन्द्रको 0५४ सालमा भएको सम्मेलनले एउटा कार्यदिशा तय ग-यो । महासचिव नारायणकाजी श्रेष्ठ प्रकास भए । खुला पार्टीको रुपमा जनमोर्चा रहेको थियो ।

पोखरेल त्यतिबेला मेची,कोसी र सगरमाथाको क्षेत्रीय व्यूरो इन्चार्ज थिए । ठूलो मात्रामा पूर्णकालीन कार्यकर्ता बनाईएको थियो । पूर्णकालीन कार्यकर्ताहरुले आफ्ना बालबालिकाको पठन पाठन कसरी गर्ने समस्या देखाएका थिए । सिरहाको गोलबजारमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गराउने भनेर १८ जनाबाट सुरु गरिएको थियो ।

सहिदका बालबालिका,पूर्णकालीन कार्यकर्ताका बालबच्चा राख्न होस्टेल खोलेर मात्र हैन,उनीहरुलाई मातृत्वपूर्ण र पितृत्वपूर्ण प्रेम पनि चाहिन्छ,स्नेहपूर्ण वातावरण पनि चाहिन्छ भनेर सामुहिकतामा गएको उनको भनाई छ । निजी सम्पति नराख्ने र एउटा नयाँ सामुहिकतामा जाने मोडेल बनाउने भनेर अघि बढेको पोखरेलले बताए ।

मन्त्री पोखरेलले भने,‘हामीले एउटा घर भाडामा लिएर सुरु गरेका थियौं । पछि सामुहिकतामा जान कसैको पैसा मागेर नभई आफ्नै कार्यकर्ताबाट चन्दा लिएर र पैतृक सम्पतिलाई एकठाँउमा राखेर कोष बनाउथ्यौँ र हरेक जिल्लाबाट सहिद र पूर्णकालीन कार्यकर्ताका बालबालिका संकलन गर्ने भन्यौं ।

जनयुद्धसँगको हाम्रो सहकार्य चलिरहेको थियो । हाम्रा ४ दर्जन जति साथी मारिनु पनि भएको थियो । त्यो कोणबाट यसलाई पार्टी कम्युन भन्छु म,कम्युन उन्मुख सामुहिकता । पार्टी र सत्ता छ । जनकम्युन भनेको चाही सत्तासँग गासिएका भए । यो चाही सत्तासँग गासिएको हुदैन । नयाँ ढंगको पार्टी नभई क्रान्ति हुदैन । क्रान्ति सफल हुन सहि कार्यदिशा हुनुपर्छ । त्यस्तो खालको अभियानलाई सहयोग गर्नका लागि यस्तो सामुहिकता खोल्नुप-यो हामीले आह्वान गरेका थियौं । १५ परिवार यसमा सामेल हुनुभयो । हामी ४८ सदस्यसम्म भयौं र अलि ठूलो परिवारको रुपमा यसको डिजाइन ग-यौं ।

आधारशिला स्थापना गर्नुको पहिलो उद्धेश्य पूर्णकालीन कार्यकर्ताको रक्षा गर्नु,दोश्रो सहिद परिवारका छोराछोरीका पठन पाठन व्यवस्थित बनाउनु,तेश्रो नयाँ ढंगको पार्टी निर्माणका लागि सहयोग गर्नु रहेको उनले सुनाए ।  यसका लागि उनले घरपरिवारले दिएको पैतृक सम्पति आधारशिलामा सामेल गरेका छन् ।

मन्त्री पोखरेलले भने, ‘हाम्रो भान्छा एउटै छ,हामी संगै खान्छौँ । विभिन्न जातजातीका छौं हामी । यहाँ थारु हुनुहुन्छ,यादव हुनुहुन्छ,महतो हुनुहुन्छ,जनजाती हुनुहुन्छ । हामी मिक्स खालको छौँ ।

सिरहामा २ कठ्ठामा सुरु गरेकोमा अहिले १३ कठ्ठा ऐलानी जमिनमा आधारशिला रहेको छ । २०६५ मा माओवादीसँग पार्टी एकता गरेपछि सिरहाबाट बर्दिबासमा सारिएको थियो ।

आधारशिला बिचारधारात्मक बहसको केन्द्रको रुपमा रहेको र हरेक मुद्धामा छलफल हुने गरेको छ । अक्टोबर क्रान्ति,सुशासन,संस्कृति,भाषा लगायत विभिन्न मुद्धामा छलफल गर्ने गरेको मन्त्री पोखरेलले सुनाए ।

हिजो १८ जना बालबालिकाबाट सुरु गरेको आधारशिलाका विद्यार्थीले अहिले एमए सम्मको अध्ययन गरेका छन् । अहिले भने ६ जना मात्र बालबालिका रहेका छन् ।

आधारशिलामा संरक्षक,निर्देशक समिति र आवश्यक विभागहरु बनाईएको छ । स्कुल विभाग,पठनपाठन विभाग,मेसको छुट्टै,स्वागत सत्कार विभाग आवश्यकतामा आधारमा काम गर्ने बताए । आधारशिला कुनै दर्तावाल संगठन नभएर स्वेच्छिक रुपमा आएको संगठन रहेको मन्त्री पोखरेल बताउँछन् ।

आधारशिलाका सदस्य शिव फुयाँलले भने, ‘राजनीतिक आन्दोलनकै कारण यसलाई अगाडि बढाउने हो । राजनीतिक आन्दोलनलाई अघि लैजानका लागि सामुहिक रुपान्तरण सहित आफ्नो जीवन अघि बढाउनुपर्छ भन्ने आधारमा यसमा बसेर हामीले काम गरिरहेका छौं ।

आधारशिलाका संरक्षक नेकपाका नेता नारायणकाजी श्रेष्ठ हुन् भने गिरिराजमणी पोखरेल संस्थापक अध्यक्ष रहेका छन् । पेशल खतिवडा,दीपबहादुर योञ्जन,माधव कोइराला लगायतका नेताहरुको पनि यसमा भूमिका छ ।

यसरी सञ्चालन भइरहेको छ आधारशिला

आधारशिला सञ्चालनका लागि सुरुका बेला मसला उद्योग चलाइएको थियो । पछिल्लो समय उद्योगको काम रोकिएको छ । आधारशिलामा रहेका व्यक्तिहरु विभिन्न क्षेत्रमा काम गर्छन र उनीहरुले कमाएको रकम आधारशिलामा खर्च हुने फुयालले बताए ।

उनले भने, ‘विज्ञान र प्रविधिमा आधारित आजको दृष्टिकोणको आधारमा समुदाय नै मुल कुरा हो र समुदायको आधारमा जानुपर्छ भन्ने मुल उदेश्य सहित चलेको हो । यहाँ मेरो निजी राखेर मैले प्रतिशतमा गर्ने भन्ने चाही हुँदैन । यो सहकारी भन्दा माथि कम्युन नभइसकेको कम्युन उन्मुख समुदायमा आधारित सामाजिक संस्था हो ।

बालबालिकाको पठनपाठन,लताकपडा लागि आधारशिलाले नै खर्च गर्ने गरेको छ । आधारशिलामा आफुले गरेको कमाई र खर्च सार्वजनिक गरिन्छ । दुई बर्षदेखि आधारशिलामा बसोबास गरिरहेका शिव फुयाल अधारशिलालाई समाजवाद उन्मुख कामका लागि प्रारम्भ विन्दुको रुपमा लिन्छन् ।

आर्थिक रुपमा टिकाउनका लागि सुरुमा गोलबजारमा सामानहरु बिक्री गरेको,होटेल चलाएको मन्त्री पोखरेलले स्मरण गरे । कम्प्युटर सिकाउने केन्द्र खोलेको र बर्दिबास आएपछि मसला उद्योग पनि सञ्चालन गरेको उनले बताए । उनले भने, ‘हामीले यहाँ आएपछि रुची मसला उद्योग चलायौँ,फेरी हामीले सहकारी स्थापना ग-यौँ । जनमुखी तथा विकास सहकारी चलाएका छौं त्यसमा ७ सय जति सदस्य हुुनुहुन्छ । भाडामा जग्गा लिएर चामल र दाल उत्पादन ग-यौं । अहिलेसम्म खानेकुराको हामीले हल गरेका छौँ । दालचामलको समस्या छैन तर अरु खर्च चाही गाह्रो पर्छ हामीलाई ।

आधारशिलाले महोत्तरीमा दर्पण एफएम पनि चलाएको थियो तर पछि बन्द भयो । स्कुल रुपान्तरणमा चाही सर्वाधिक सफलता पाएको र सो क्षेत्रमा साक्षरता अभियानसमेत सञ्चालन गरेको उनले बताए । काठमाडौंमा दुईवटा होस्टेल पनि चलाइएको थियो । भूइचालोपछि काठमाडौंमा बन्द भएको होस्टेल अहिले बर्दिबासमा सञ्चालन भइरहेको छ।

आधारशिलाको स्थापनाकालदेखि नै आमाको रुपमा पुष्पलता घिमिरेले आफ्नो भूमिका निर्वाह गरेकी थिइन । उनका श्रीमान र उनी दुबै पार्टीका पूर्णकालीन कार्यकता थिए । पूर्णकालीन कार्यकर्ताका बालबालिकालाई पढाउन तथा संरुक्षणका लागि पार्टीको नीति अनुसार यसको सुरुवात भएको उनले बताइन् ।

उनले भनिन्, ‘ज्ञानेन्द्रको शासनकालका बेला दुःख कष्टले यसको सुरुवात गरेका थियौं ,सुरुमा महिला संगठनको व्यानर राखेर छात्राबासको नामबाट यसको सुरुवात गरिएको थियो । पछि आएर सम्पत्ति सामाजिकीकरण गर्ने कम्युनको रुपमा बस्ने भन्ने निर्णय भयो ।

यस्तो हुन्छ आधारशिलाको भान्छा

आधारशिलामा सबैले एकैखाले खाना खान्छन् भने विरामीका लागि भने फरक खालको खाना बनाइने गरिएको छ । खानामा दालभात तरकारी अचार दैनिक हुने गरेको छ,हप्तामा एकपटक मासु पाक्छ । सामान्य निजी घरमा हुने भन्दा राम्रो खाना खाने गरेको घिमिरेले बताईन् । एकजनालाई किचेन व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने सबैजना मिलेर खानेकुरा पकाउने गरेका छन् ।

परिवारमा १० बर्ष मुनीका बालबालिका र ५० बर्ष माथिका लागि प्रत्येक दिन दुधको पनि व्यवस्था गरिन्छ । कोही बिरामी प-यो भने छुट्टै खाना बनाउने गरिन्छ । परिवारमा रहेका आधा संख्याका सदस्य भने घर बाहिर बस्ने गरेका छन् । खाना खाने समयमा दैनिक पन्ध्र बिस जना हुने गरेका छन् । एकछाकमा ५ गिलास चामलले पुग्ने घिमिरेले बताइन् ।

परिवारका लागि भाडामा लिएको खेतीबाट बर्षभरीलाई चामल पुग्ने,किन्न नपर्ने र पोहोरको धान अझै खाइनसकेको उनले बताइन् । पानी लाग्ने ठाँउमा २२ कठ्ठाजति जमिन भाडामा लिइएको छ ।

उनले भनिन्, 'हाम्रोमा कलेज पढाउने पनि हुनुहुन्छ उहाँको आयस्रोत आँउछ,मैले कमाएको यहाँ बृद्ध र बच्चाहरुको लागि पनि खर्च गर्नुपर्छ । राजनीतिक क्षेत्रमा जानेहरुको पनि त्यस्तै छ । निजी जीवनमा पनि कसैलाई त पाल्नुपर्छ भने सामुहिक परिवारमा पनि त पाल्नुप-यो नी । खोटाङमा दुर्गा जयन्ती राई हुनुहुन्छ,उहाँले तरकारी खेती गरेर घरखर्च दिनुहुन्छ । पेशल खतिवडा दाई हुनुहुन्छ उहाँले पनि काम गर्नुहुन्छ ।

जातिय विविधता: झगडा परालको आगो

परिवारमा कहिलेकाही सामान्य ठाकठुक पनि पर्ने हुन्छ । त्यस्तो भयो भने तत्काल मिटिङ बसेर हल गरिने चलन छ । तर,घर परिवारमा जस्तो झगडा भने नहुने पुष्पलता बताउँछिन् । उनी भन्छिन्, ‘हामी त बिचार बोकेका मान्छे हौ,कहिलेकाही ठाकठुक त पर्छ तर हामी हल गरिहाल्छौ ।

आधारशिलामा क्षेत्री बाहुन,जनजाती र मधेसी समुदाय छन् । जनजातीमा तामाङ,चौधरी,मधेसीमा यादव छन् ।

बेलाबेलामा समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने गरेको छ । यस्तै दशैतिहारका बेला विभिन्न विषयमा छलफल गरेर मनाउने गरिएको छ । तर टिका लगाउने काम भने हुदैन । बाहिरबाट अरुलाई बोलाएर पनि छलफल गर्ने चलन छ ।

आधारशिलामा बिहे अरुतिर हुनेभन्दा अलि फरक ढंगले हुने गरेको छ । घिमिरेले भनिन्, ‘हाम्रो यो परिवारमा जग्गे राखेर चामल डढाएर हैन,सामान्य माला लगाएर बिहे हुन्छ । अलिअलि भाषण गरेर,सामान्य खानपिन गरेर बिहे गरिन्छ ।

पुनम महतो ७० सालदेखि आधारशिलामा बस्न थालेकी हुन् । उनका ३ बच्चा र श्रीमान छन् । उनले त्यहाँ खेतीपातीदेखि आवश्यक पर्ने काम गर्छिन । पहिले घरमा बस्दा बाहिर जान समस्या हुन्थ्यो । आफ्ना बच्चालाई पनि आफु नहुँदा आफ्नै बच्चा जस्तै सबैले माया गर्ने उनले बताइन् । पहिला बसेको जीवनशैलीभन्दा आधारशिलाको जीवनशैली सरल भएको उनी बताउँछिन् ।

ऐलानी जग्गामा आधारशिला 

१३ कठ्ठा जमिनमा रहेको आधारशिला ऐलानी जग्गामा रहेको मन्त्री पोखरेलले सुनाए । केहीदिन पहिले भूमिसुधार मन्त्री पद्मा अर्याल आएका बेला आफ्नो र आफ्नोजस्तै जग्गाको समस्या भएकाहरुको एकैचोटी हल गर्नका अनुरोध गरेको सुनाए । उनले भने, ‘पहिले हामीले बाबुराम भट्टराईजी प्रधानमन्त्री भएको बेला भन्यौं । बालुवाटारमा गएर उहाँलाई भेट्यौं,उहाँले एउटा टोली बनाईदिनुभयो । कर्मचारीको नेतृत्वको टोली थियो तर त्यसले रिर्पोट बुझाउन सकेन । अस्ति भुमिसुधार मन्त्री आउनुभएको थियो । हामीले यहाँ ल्यायौं,छलफल ग-यौँ । हाम्रोसंगै अरुको पनि समस्या समाधान गर्न हामी चाहन्छौँ ।

मन्त्री पोखरेलले आधारशिला चेतनाका दृष्टिकोणले खोलेको र अब जीवनको दृष्टिकोणले यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘म के भन्छु भने धुर्मुस सुन्तली फान्डेसनले हाम्रोभन्दा राम्रो घर छ,अहिले त्यहाँका मुसहर जुन घरमा बसेका छन्,म बसेकोभन्दा राम्रोमा बसेका छन्  उनीहरु। राज्यले त्यो ढंगले ब्यापक बिस्तार गर्नुपर्छ,त्यो राज्यको जिम्मेवारीभित्र पर्छ,पार्टीमा लागेकाहरुले पनि यसरी बिचारधारात्मक रुपमा समानतापूर्वक एउटा बाटोमा जान सकिन्छ ।

उनले धार्मिक संस्थाहरु पनि कम्युनका रुपमा खुलेको भन्दै राजनीतिक रुपमा पनि सामुहिकतामा आधारित कम्युनहरु खुल्नुपर्ने र यसबारेमा नयाँ बहस हुनुपर्ने बताए ।

 

आधारशिला कम्युनका संस्थापक पोखरेलको सम्पति

मन्त्रीपरिषदमा बुझाएको सम्पति विवरण हेर्दा बर्तमान सरकारका सबैभन्दा गरिब मन्त्रीका रुपमा पोखरेल देखिन्छन् । पुख्यौली घर खोटाङमा बुवा चन्द्रमणी पोखरेलको नाममा रहेको १२ रोपनी र १० रोपनीको दुईवटा जग्गाबाट पाएको अंश सामाजिक संस्थालाई दान गरेका छन् । उनले भरेको सम्पति विवरण अनुसार एभरेष्ट बैंकमा उनको ३ लाख ६७ हजार रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकमा १३ हजार ९ सय ९३  रुपैयाँ छ । यस्तै खोटाङमा रहेको रुपाकोट रेडियोमा उनको ५ हजार रुपैयाँको शेयर रहेको छ ।

कम्युनिष्ट पार्टीको मूल आर्दश साम्यवादको एक नमुनाको रुपमा रहेको आधारशिलालाई निरन्तरता दिने र सो मोडेलबारे अहिलेको ठूलो कम्युनिष्ट पार्टीमा पनि बहस हुनुपर्ने मन्त्री पोखरेलको आकांक्षा छ ।  

सभार– रातोपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६