नेवारी आँगनमा फुल्दै मिथिला कला काठमाडौंको मुटु ठमेल र ठमेलको पनि केन्द्रमा भेटिन्छ, मिथिला कलाले सजिएको एउटा कलाघर

  • प्रकाशित मितिः मंसिर 17, 2075
  • 72 पटक पढिएको

स्नेहा झा

काठमाडौं । काठमाडौंको मुटु ठमेल र ठमेलको पनि केन्द्रमा भेटिन्छ, मिथिला कलाले सजिएको एउटा कलाघर । ढोकासँगैको भित्तामा मिथिलाकी ‘गोसाउनी’, अर्थात् कुलदेवी भगवतीको पेन्टिङ राखिएको छ । पेन्टिङ हेर्दा मिथिलाका घरहरूमा कोरिने चित्रजस्तै देखिन्छ ।


त्यससँगै १६ कलाका देव मानिने कृष्णको पनि कलात्मक पेन्टिङ बनाइएको छ । राधाकृष्णको यो पेन्टिङ पनि मिथिला चित्रकलाकै फ्युजन हो । मिथिलाका गाउँघरका भित्ताहरूमा यस्तै चित्र कोरिन्छ ।

नेवारी आँगनमा फुल्दै मिथिला कला


ढोकामाथि मिथिला लोककलाकै स्वरूपमा बनाइको छ, एक महिला र एक पुरुषको चित्र । जसले चित्र कोर्दै कलाको सेवा गरिरहेका देखिन्छन् । नेवारी सभ्यताको जग ठमेलमा १४ वर्षदेखि बडो सुन्दर तवरले उभिएको यो कला मन्दिरको नाम हो ‘मिथिला येँ आर्ट ग्यालरी’ । र, यस ग्यालरीका संस्थापक हुन्, सिरहा सुखीपुर नगरपालिकाका श्यामसुन्दर यादव ।


नेवारी भाषामा येँ भनेको काठमाडौं हो । नेपालमा नेवारी र मैथिल संस्कृतिलाई सबैभन्दा धनी संस्कृति मानिन्छ । मौलिक कला र संस्कृति भएको यी दुई सभ्यतालाई एकै ठाउँमा जोडेको छ, आर्ट ग्यालरीले । मिथिला र येँ कसरी सँगै आयो त रु सिरहा जिल्ला विद्यानगर गाउँका मैथिल युवा श्यामसुन्दर अनि काठमाडौं ठमेलका नेवार विभूतिमान सिंह एकैठाउँ आएपछि विसं २०६२ सालमा मिथिला येँ आर्ट ग्यालरी स्थापना भयो ।

 

ललितकला क्याम्पसबाट फाइन आर्ट पढेका यादवलाई चित्र कोर्न मन पर्थ्यो । अनि राजनीतिक परिवारका सिंह कलाका पारखी । यादवलाई आफ्नो कला साधना गर्न एउटा कलामन्दिर चाहिएको थियो । सिंहले आफ्नै घर यादवलाई सुम्पे । एउटा आर्ट एक्जिभिसनबाट सुरु भएको चिनजान यसरी सहकार्यमा बदलिन पुग्यो ।


मिथिला लोककला र संस्कृतिको लामो अध्ययन र अनुसन्धान गरेका यादवले काठमाडौंको नेवारी संस्कृतिमा मिथिला कला र संस्कृति मिसिएको पाए । मल्लकालदेखि अहिलेसम्म पनि नेवारी समुदायमा मैथिल र मिथिला संस्कृतिको बाक्लो प्रभाव देखेपछि उनले मिथिला र काठमाडौंको नाम सँगै राख्ने सोच बनाए ।

यादवले बालकै बेलादेखि कलाकार बन्ने सपना देखेका थिए । आफू चार कक्षामा हुँदाखेरि नै भविष्यमा कला अध्ययन गर्ने अठोट गरिसकेका थिए ।


घरमा काका, दाजुभाइ र दिदीबहिनी जति सबै विज्ञान पढेका । पढाइमा कुनै समस्या नआओस् भनेर बुबाले सिरहा इनरवाका शिक्षक, स्वतन्त्रलाल कर्णलाई घरमै राखेका थिए । यस्तो पारिवारिक माहोलमा पनि यादवको मन आफ्नो मौलिक कलातर्फ तानियो ।


गृहकार्य गर्न दिइएको कापीमा उनी पानाभरि हात्ती, मैनाजस्ता जीव र चराचुरुंगीको चित्र कोरिदिन्थे । यादवको यस्तो चित्रकारिताले बुबालाई भने सारो रिस उठ्थ्यो । त्यतिबेला उनका शिक्षक कर्णले भने उनलाई निकै हौस्याउँथे । कर्णले यादवका बुवालाई पनि भन्थे, यादवलाई कलाकारिता नै पढाउनुपर्छ । चार कक्षामा पढ्दै गरेका यादवलाई कर्णले नै बताएका थिए, काठमाडौंमा चित्र कोर्ने पढाइ हुन्छ भनेर । क्याम्पसको नाम पनि भनिदिएका थिए, ललितकला ।


बुझ्दै जाँदा यादवले थाहा पाए, बनारसको काशी विश्वविद्यालयमा कलाकारिताको राम्रो पढाइ हुन्छ । उनी जिद्दी गरेर घरबाट थोरै पैसा बोकेर बनारस पुगे । तर, उनको भाग्यले साथ दिएन । काशी विश्वविद्यालयमा भर्ना हुने समय सकिसकेको रहेछ ।


२०३५ साल असार महिना ५ गते जन्मेका यादव १७ वर्षको उमेरमा पहिलोचोटि बाहिर गएका थिए । मनमा डर पनि थियो । पैसा थोरै भएकाले उनी लजमा बसेनन् । रेल्वे स्टेसनमै सुते । आफूले बोकेको थोरै पैसा पनि चोरिन्छ कि भन्ने डरसमेत उनमा थियो ।


त्यहाँ पढ्न नपाएपछि उनी काठमाडौं आए । काठमाडौंमा पनि भर्ना हुने समय सकिसकेको रहेछ । भर्ना नभए पनि ललितकला क्याम्पस नियमित जान थाले । कलाप्रति उनको लगाव देखेर उनका शिक्षकहरूले पढ्ने वातावरण बनाइदिए । अर्को वर्षमात्र उनले इन्ट्रान्स दिए र पहिलो नम्बरमा नाम निकाले । त्यसपछि उनको फाइन आर्ट पढाइ सुरु भयो ।


घरमा हजुरआमालाई देखेर कलाको प्राथमिक शिक्षा पाएका यादवको रुचि मौलिक पारम्पारिक मिथिला कलामा थियो । तर, काठमाडौंमा मिथिला आर्ट पढाइँदैन थियो, अहिले पनि पढाइ हुँदैन । यादव भन्छन्, ‘मिथिला आर्ट पढाइ हुनु त परको कुरा हो । त्यतिबेला मिथिला चित्रकलालाई आर्टको मान्यतासमेत दिइएको थिएन । क्राफ्ट भनिन्थ्यो ।’


यादवलाई उनका शिक्षक राधेश्याम मुल्मीले मिथिला चित्रकलाको महत्व बुझाए । मुल्मीले यादवलाई मिथिला चित्रकलामै लाग्न र अगाडि बढ्न सुझाव दिए । कलाकार यादवले अहिलेसम्म देश र विदेशमा गरी ५ वटा सोलो एक्जिभिसन गरिसकेका छन् । उनले आफ्नो पहिलो एक्जिभिसन आफ्नै घरमा गरेका थिए । उनको पहिलो कला प्रदर्शनीको उद्घाटन उनका हजुरबुबाले गरेका थिए ।


यादव सानो छँदा जब कापीमा चित्र कोर्थे, हजुरबुबाले के चिरिबिरी कोरेको भनेर कराउँथे । उनले आर्ट पढ्न थालेपछि हजुरबुबाको चिन्ता झनै बढ्यो । चिरिबिरी पढेर कसरी पैसा कमाउने भन्ने चिन्ता हजुरबुबालाई थियो ।


हजुरबुबाको यसै चिन्ता र प्रेमका कारण यादवले आफ्नो पहिलो सोलो एक्जिभिसन आफ्नै घरमा गराए र उद्घाटन हजुरबुबालाई गर्न लगाए । यादवको अहिलेसम्मको अनुभवमा उनको गाउँको एक्जिभिसनमा जति ठूलो समुदाय अहिलेसम्म उनले देखेका छैनन् ।


यादव सम्झिन्छन्, ‘त्यतिबेला उनको पेन्टिङ हेर्न आएकालाई खाजा खुवाउन परिवारलाई हम्मेहम्मे परेको थियो ।’ यादवले आफ्ना ६० वटा पेन्टिङ त्यहाँ राखेका थिए ।


२०५४ देखि ०५९ सालसम्म यादव अनवरत मिथिलाका गाउँ घुमिरहे । नेपालभित्र मात्र नभई भारतको मधुबनी जिल्लाको पनि २० भन्दा बढी गाउँ घुमे । स्थानीयका घरमै बसेर उनले मिथिला चित्रकलासम्बन्धी अध्ययन तथा अनुसन्धान गरे ।


२०५७ सालदेखि ०६० सालसम्म लगातार चार वर्ष प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने नेसनल आर्ट फेयरमा उनी पहिलो भए । उनलाई मिथिला क्राफ्ट भनेर पहिलो पुरस्कार दिइएको थियो ।


आर्टसम्बन्धी राम्रै अध्ययन र अनुसन्धान गरेका यादवलाई मिथिला लोककलालाई क्राफ्ट भनिनु चित्त बुझेको थिएन । उनी आफ्नो गुनासो लिखित रूपमै लिएर प्रज्ञा प्रतिष्ठान पुगे ।


त्यतिबेला प्रतिष्ठानका कुलपति बासुदेव त्रिपाठी थिए । यादवले त्रिपाठीलाई आर्ट र क्राफ्टको परिभाषा सोधे । अनि मिथिला लोककलाई आर्ट नभनेर क्राफ्ट किन भनिएको भनी प्रश्न गरे । कुलपति त्रिपाठीले नेपालमा सबैभन्दा बलियो आर्ट नै मिथिला लोककला रहेको स्वीकारे र प्रतिष्ठानले मिथिला कलालाई क्राफ्टको ठाउँमा आर्ट अर्थात् लोककलाको मान्यता दियो ।


आर्ट ग्यालरी खोलेपछिका सुरुवाती दिन सम्झिँदा भावुक हुन्छन् उनी । आफूलाई दुःख नै नभए पनि संघर्ष भने धेरै गर्नुपरेको उनको अनुभव छ । आफ्नो मातृभूमि र माटोको माया बोकेर काठमाडौंमा मिथिला ग्यालरी स्थापना गरेपछि आफ्नाहरूले त पक्कै सहयोग गर्लान् जस्तो लागेको थियो उनलाई ।


काठमाडौंमा राम्रै ठाउँमा रहेका मैथिलजति सबैलाई भेटे उनले । कसैसँग आर्थिक सहयोग मागेनन् । केवल आफ्नो ग्यालरीमा एकपटक आइदिन अनुरोध गरे । उनीहरूले गर्ने सार्वजनिक कार्यक्रम आफ्नै ग्यालरीमा गरिदिन पनि आग्रह गरे । त्यसबापत आफूले कुनै रकम पनि नलिने बताए । तर, अधिकांश उनको ग्यालरीभित्र छिरेनन् ।


अहिले उनको ग्यालरीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारका पेन्टिङको पनि एक्जिभिसन हुने गर्छ । उनी आफ्नै ग्यालरीमा पेन्टिङ सिकाउने काम पनि गर्छन् । मिथिला चित्रकला सिक्न चाहनेको संख्या बढ्दै गइरहेको उनी बताउँछन् । समर्पण भावले लाग्ने हो भने यस पेसामा भविष्य पनि राम्रै हुने उनको अनुभव छ ।


मिथिला चित्रकला सिक्न आउनेसँग आफूले फिस नलिने गरेको उनी बताउँछन् । इच्छा लाग्नेहरूलाई जे मन लाग्यो दिन्छन् । त्यस्तै मैथिल लेखकहरूको किताबको आवरण चित्र वा अन्य चित्र बनाइदिँदा पनि उनी पारिश्रमिक लिँदैनन् । जसलाई जे दिन मन लाग्यो दिन्छन् ।


मिथिला लोककलाको अध्ययनमा दुई दशकभन्दा बढी समय बिताएका यादव मिथिला लोककला संसारका सबै कलाको जननी भएको बताउँछन् । उनी पिकासोको मोर्डन आर्टको कन्सेप्ट पनि प्राचीनतम मिथिला लोककलासँगै प्रभावित रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘मिथिला चित्रकलाको सबैभन्दा सुन्दर पक्ष नै यसको सरलता हो ।

मिथिला चित्रकलामा कुनै नियम छैन । यस कलामा जसरी हात घुमाइदिए पनि चित्र बन्छ । यसको सरलता र मौलिकताले यसलाई विशिष्ट बनाउँछ ।’   स्रोत– www.thenepaltop

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६