एउटा किड्नीले काम गर्छन् सुनसरीका सिडिओ एउटा किड्नीले काम गर्छन् सुनसरीका सिडिओ

  • प्रकाशित मितिः श्रावण 18, 2075
  • विराट अनुपम
  • 180 पटक पढिएको

इटहरी/ रक्तदानलाई पनि मान्छेहरू ‘जीवनदान’ भन्छन् । रगत त दिए पनि पुनः बन्छ र दान गरिरहन मिल्छ । तर, किड्नी नै दान दिन भने बडो जोखिम छ ।

दुइटा किड्नीमा एउटा दान दिँदा दिएको किड्नी ट्रान्सप्लान्टका क्रममा फेल भयो भने एउटा किड्नी गयोगयो । किड्नी लिने मान्छेको पनि ज्यान जान्छ । यो यस्तै, जोखिमपूर्ण यात्राबाट आएका हुन् सुनसरीका वर्तमान सिडिओ प्रेमप्रकाश उप्रेती । धेरैले उनलाई एक कुशल प्रशासकसँगै अन्डरग्राउन्ड गीतकारको रूपमा चिन्छन् । तर, उनको किड्नी दानको सुखदुःखको कहानी भने कमैलाई मात्रै थाहा छ ।

जब प्रेसरका बिरामी बाबुका छोराको किड्नी फेल भयो
२०६७ सालको कुरा हो । २५ वर्षीय आफ्ना छोराको सामान्य परिवारसँग विवाह गरिदिए उप्रेतीले । राम्रो सरकारी ओहोदामा काम गर्ने बाबुका एक्ला छोरा प्रतीक उप्रेतीले किन सामान्य गाउँघरमा गएर ज्वाइँ बन्न खोजे ? यो प्रश्नलाई केटी पक्षले महत्वपूर्ण रूपमा लियो । आफ्नो रोजाइ नै तडकभडक होइन सामान्य परिवारको सम्धी बन्ने भनेर उप्रेतीले भनेपछि त्यो प्रश्न सामसुम भयो । तर, केही समयलगत्तै उप्रेती परिवारमा तनाव थपियो । अर्थात् एक्ला छोरा प्रतीकका दुवै मृगौला फेल भएको पाइयो ।

एक त बिहे गर्दै बुहारीका तर्फबाट आशंका भएको । र, अर्कोतर्फ बिहे भएको छोटो समयपछि मृगौला फेल भएको जानकारी । त्यसपछि तनाव भयो उप्रेती परिवारलाई । सरकारी जागिरमा व्यस्त प्रेमप्रकाश उप्रेतीलाई त झनै सकस भयो ।

छोराको मृगौला फेल भएकाले सामान्य परिवारमा ज्वाइँ बन्न गएको जस्तो देखिने डर उप्रेतीलाई भयो । यत्ति मात्रै कहाँ हो र ? ब्लड गु्रप मिल्ने आमाबाबु दुवै प्रेसरका बिरामी । बुहारीको मृगौला लिन ब्लड ग्रुप सोध्ने अवस्थै आएन ।

उप्रेतीले नेपाली डाक्टरहरूलाई सोधे । किड्नीका विज्ञ भनिनेहरूलाई सोधे । सबैले एकै जवाफ दिए, ‘प्रेसरको औषधी खानेले मृगौला दिन मिल्दैन ।’ यो कुराले झन् तवानमा परे उप्रेती । ब्लड गु्रप मिल्ने केही आफन्त खोजे । शुरुमा सबैले राम्रै कुरा गरे । पछि दोस्रो भेट दिन मानेनन् । फोनसम्म उठाएनन् । तनावमाथि तनाव थपियो ।

आमाले पहिलो जन्म, बाबुले दोस्रो जन्म
यसै क्रममा उप्रेतीले भारतीय डाक्टरहरू तथा विशेषज्ञहरूसँग पनि कुराकानी गरे । भारतीय राजधानी दिल्लीका डाक्टर जौहारीले भने उप्रेतीलाई उत्साहप्रद सल्लाह दिए । उनले भने, ‘प्रेसरको औषधी खानेलाई किड्नी दानमा कुनै समस्या छैन । यदि किड्नीको स्वास्थ्य राम्रो छ भने हुन्छ ।’

जौहारीको यस्तो सल्लाहले उप्रेती दम्पत्ति दुवैले आफ्नो मृगौला स्वस्थ भएको अवस्थामा छोरालाई दान दिन मिल्ने देखियो । उप्रेतीसँगै उनकी श्रीमतीले पनि एक्लो छोरालाई किड्नी दिन खोजिन् । तर, उप्रेतीले आफूले नै दिने तर्क गरे । उनले श्रीमतीलाई सम्झाएको पल सम्झँदै भने, ‘तिमीले पहिलो जन्म दियौ । म अब दोस्रो जन्म दिन्छ्ु ।’

बाबुले दिएको किड्नी २०६८ मा काठमाडौंको टिचिङ अस्पतालमा ट्रान्सप्लान्ट गर्दा उस्तै तनाव भयो । किड्नी ट्रान्सप्लान्ट हुँदा समस्या भएको भए उप्रेतीको पनि एक किड्नी हुन्थ्यो । र छोरा पनि जिवीत हँुदैनथिए । एकैपटक २ बज्रपात हुन्थ्यो ।

२ पटक त डाइलासिसको क्रममा छोरा प्रतीकको प्राण नै नरहलाजस्तै भएको उप्रेती सम्झन्छन् । उनी भन्छन्, ‘डाक्टरले नै २ पटक त श्वास गयोसम्म भने । तर, पम्पिङ गरेर हातैले श्वास दिलाएपछि भने केही राहत भयो । बुबाको ७० घन्टामा श्वास आएको अनुभवका आधारमा मलाई केही आशा भने थियो ।’

पछि छोराको किड्नी पनि सफल ट्रान्सप्लान्ट भयो । हाल उनी काठमाडौंको एक राम्रो निजी विद्यालयमा राम्रो जागिर गर्छन् । यता, उप्रेती पनि धनकुटापछि सिडिओको रूपमा सुनसरीमा काम गर्दैछन् ।

‘एउटा किड्नीले पनि समस्या छैन’
हरेक दिन विभिन्न कामको चापमा हुने सुनसरीका सिडिओको एक मात्रै किड्नी छ भन्ने कार्यालयका धेरै कर्मचारीलाई थाहा छैन । केही आफन्तबाहेक धेरैलाई यस बारेमा थाहा छैन । कारण के हो भने उप्रेती स्वस्थ छन् अनि खुशी छन् ।

उनी भन्छन्, ‘किड्नी एउटा हुनु र दुइटा हुनु उस्तै हो । स्वस्थ हुनलाई कम्तीमा एक किड्नी राम्रो भए पुग्छ । मेरो किड्नी हेल्दी भएकाले सहज छ ।’

आफूले आफन्तलाइ समस्या पर्दा आफन्त मात्रै होइन आफ्नै आमाबाबुलाई पनि किड्नी नदिएका थुप्रै मान्छेहरू देखेको बताउने सिडिओ उप्रेती आफूलाई भने किड्नी दिएकोमा झनै खुशी लागेको बताउँछन् ।

कुनै एक आफन्तको सहयोगले कोही बाँच्छ भने सहयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ । उनी भन्छन्, ‘जीवन भनेको बाँच्नु मात्रै होइन बचाउनु पनि हो । कहिलेकाहीँ भगवानले पनि नबचाउने काममा मान्छेले बचाउन सक्छ । तर, दिल र दया हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६