शिक्षक, पत्रकार, समाजसेवीदेखि विधायकसम्म बन्ने को हुन् रामअशिष यादव ?

  • प्रकाशित मितिः पुष ९, २०७४
  • 9 पटक पढिएको
  • मधेश स्पेशल

आइतबार ०९, पुष, जनकपुरधाम: भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनुषाबाट राजनीतिमा नदेखिएका एक नयाँ अनुहार पनि चुनिए । पत्रकार र सरसफाई अभियन्ताका रुपमा परिचित एक अनुहार पनि धनुषाको निर्वाचन क्षेत्र नं. २ को (ख) बाट प्रदेशसभामा निर्वाचित भएका छन् । । ती अनुहार हुन् सरसफाई अभियन्ता रामअशिष यादव । संघिय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका रामअशिष यादवले १७ हजार १ सय ३२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार ४ सय ८९ मत ल्याएर पराजय भोग्नु पर्यो ।

समाजसेवाको नमूना रामअशिष यादव, विगत एक दशक भन्दा लामो समय देखि समाजको सेवामा समर्पित छन् । ७२ कुट्टी ५३ तालको शहर जनकपुरमा पोखरी मठ मन्दिरहरुको अवस्था दयनीय हेरेर पत्रकारिताको माध्यमबाट समाज परिवर्तन गर्ने अभियानमा यादवले लागे । “एक दशक पत्रकारिताको माध्यमबाट जनकपुरका मठ मन्दिर तथा यहाँका ऐतिहासिक धरोहर र महत्व बोकेको ताल, सरोवरको संरक्षणमा आफ्नो मसीको कलम खर्चिए तर परिवर्तन सम्भव देखिएन ।

उनले भने – “लेखेर मात्र आफुले परिकल्पना गरे जस्तो समाजको विकास नहुँदो रहेछ । आफुले सोचे जस्तो र अरुले गरेकोमा भिन्न–भिन्न रङ्ग–रुप र स्वरुप फरक हुँदो रहेछ । त्यही सोचका साथ परिवर्तनका लागि म आफै कम्मर कसेर लागे, जनकपुुरको प्रसिद्ध गंगासार पोखरीको सफाई अभियान र आज सफल पनि भए ।”

उनले थप्दै भने – “गंगासागरको सफाई अभियान सुरु गर्दा म एक्लै पोखरीमा रहेका प्लाष्टिकका डब्बा र दुर्गन्धित पानीबाट सडेगलेका फोहर वस्तुहरु निकाल्थे, त्यस समयमा केही व्यक्तिहरुले मलाई एउटा पत्रकार भएर यो के गरेको भनेर समेत प्रश्न गर्थे तर, म कदापि कहिल्यै विचलित भईन र आफ्नो अभियानमा निरन्तर लागि रहे, पछि एक हातबाट दुई हात र दुई हातबाट चार हात हुँदै सघाउने मान्छेको लर्को नै लाग्यो ।”

गंगासागरलाई स्वच्छ र पवित्र जलाशयको रुपमा परिवर्तन गर्ने रामअशिष यादवको अठोट र विश्वास देखेर मलाई अचम्म लाग्यो तर पोखरी सरसफाईको अभियान मार्फत समाजमा केही उत्कृष्ठ अभिलाशा बोकेर जे गर्दा पनि सफल हुँदो रहेछ भने सोच आएको बताउँछन अधिवक्ता श्रीलाल महासेठ ।

गन्दा सागर भनेर चिनिने गंगासागर पोखरीको डिलमा आज प्रत्येक दिन साँझ गंगा आरतीको थलो बनेको छ । फोहरले जाने नमान्ने सर्वसाधारण सोही स्थाानमा गएर घण्टौ विताउँछन । गंगासागरको गंगाआरतीले एउटा हिन्दु धर्मको आस्था र प्रतिकको महत्वलाई नै बढाएको छ । गांगा आरतीलाई हेर्न प्रत्येक साँझ मानिसको भिड नै लाग्ने गर्दछ । गंगा आरती एउटा पर्यटन प्रबद्र्धनको महत्वपूर्ण र आकर्षक केन्द्र बनेको बताउँछन मानव अधिकारकर्मी अशोक साह ।

यतीका काम भईसक्दा सरसफाई अभियानी यादवको लोकप्रियता पनि कुनै कम थिएन । सेभ द हिस्टोरिकल संस्था मार्फत “ग्रीन जनकपुर, क्लिन जनकपुर” को भन्ने नारा लिएर हिँडदा कतिपय अभियानमा सफल भए भने, कतिपयमा अभियानमा असफल समेत भए । यद्दपि सरसफाईको अभियानमा सामेल हुन सरसफाई मोह अझ बढेर गयो । र यही लोकप्रियताको कारण स्थानीय तहको निर्वाचनमा चुनाव लड्ने चर्चा चलेपनि त्यतिकै सेलाएर गयो । तर चर्चा बटुलेका अभियानी यादवलाई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाटै निर्वाचनमा होमिने अवसर जुट्यो र त्यसको सदुपयोग गर्दै निर्वाचन लडे र अत्यधिक मतका साथ विजयी समेत भए । उनको लोकप्रियता र जनताको सेवामा समर्पित भावना कदर गर्दै धनुषा क्षेत्र नं. २ (खं) का जनताले रुचाएर विजयी समेत बनाए ।

“कुनै पनि पद प्रति अनावश्यक आसत्ति नराख्ने राजनीति पदको लागि भन्दा पनि समाजको लागि गर्नु पर्ने मान्यता आफुमा रहेको यादव बताउँछन । उनले भने –“राजनीतिलाई पेशा बनाएर यसलाई बद्नाम गर्नेहरु प्रति मेरो विमत्ति छ । मेरो छुट्टै मान्यता छ, राजनीति भनेको देश जनताको लागि गरिन्छ, न कि आफ्नो स्वार्थ पुरा गर्न !” त्यसैले पछिल्लो समय भइरहको राजनीतिक विकृति प्रति मेरो ठूलो गुनासो छ । मेरो मान्यता भनेको समाज सेवा गर्ने हो । त्यसको लागि राजनीति एउटा माध्यम हो, तर कहिले काँही राजनीति मार्फत पुरा गछु भन्ने मेरो अठोट हो ।

लामो समाजसेवा प्रति यिनको लगावले धनुषा स्थानीय वासिन्दाहरु माझ निकै नै लोकप्रिय समेत छन् । रामअशिष यादव भन्ने वित्तिकै यस क्षेत्रका वासिन्दाहरुले एक कर्मठ, जनताको सेवा लागि समर्पित, समाजसेवी, भ्रष्ट्राचार विरोधी, सुख दुःखमा संधै साथ रहने सहयोगी, विकासप्रेमी र अब राजनीतिज्ञको रुपमा चिन्ने गरेका छन् ।

यस्तो छ रामअशिषको शिक्षण पेशा देखि राजनीति सम्मको यात्रा
विस २०४९ सालमा काभ्रेको वागदेवी स्कुलबाट आफ्नो शिक्षण पेश सुरु गरेका यादवले तीन वर्ष काभ्रेमै अस्थायी शिक्षकको रुपमा काम गरे । त्यसै समयमा उनलाई आफ्नै गाउँकै स्कुलमा पढाउने अवसर जुट्यो र पढाउन सुरु गरे । सोही क्रममा उनलाई जनकपुरको कन्या उच्च माविमा पढाउने अवसर समेत जुटयो, साथै पत्रकारिताको माध्यमबाट दुरदराजका समाचार पढ्ने र लेख्ने अवसर पनि !

१२ वर्षे माओवादीको जनयुद्धकालमा रिर्पोटिङ्गमा सक्रिय रहेर काम गरेका यादवले अन्य दुई–तीन जना मिलेर २०६३ सालको प्रथम मधेश आन्दोलनको समयमै एक रेडियो स्थापना गरे । सोही क्रममा नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष पदमा निर्वाचित हुदै कार्यकाल समाप्त नहुँदै सरसफाई अभियानीको रुपमा समेत चिनिए । र जनकपुरको गंगासागर अभियानलाई महत्वका साथ अगाडी बढाउदै आज धनुषाको क्षेत्र नं. २ प्रदेशसभाको सदस्यको रुपमा निर्वाचित हुन पुगे ।

धनुषाको कनकपट्टी गाउँ विकास समितिमा पिता रामलखन यादव र दौलतीय देवीको कोखबाट २०३६ साल चैत्र १५ गते जन्मिएका उनले तराइ मधेशका जनताको समस्या र सवालप्रति कति गम्भिर छन् र यीनले नै समस्याको समाधान गर्न सक्षम छन् भन्ने जनताको विश्वासले नै आफुलाई प्रतिनिधि बनाएको यादवको तर्क छ । धनुषा सहित यस क्षेत्रमा चलेको विभिन्न अभियानमा सक्रिय भएर पथप्रदर्शकको भुमिका निर्वाह गरेका यादवलाई एक कर्मठ, साँच्चै जनातको मिर मर्का बुझ्ने राजनीतिज्ञको रुपमा हेर्न चाहन्थे र आज सो जनताको प्रयास सफल भएको छ । उनी प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved