जनकपुरमा विद्यार्थीले स्कुल ड्रेसमा मोटरसाइकल र स्कुटी चलाउन नपाउने

  • प्रकाशित मितिः माघ २२, २०७४
  • 56 पटक पढिएको
  • मधेश स्पेशल

माघ २२, २०७४ / जनकपुरधाम: जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जिल्लामा गुड्ने निजी विद्यालयका सवारी साधनको रंग सुन्तला–पहेलो बनाइने भएको छ।

ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याबसन, एन प्याब्सन र र विभिन्न विद्यालय संचालकहरु बीच शुक्रबार भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी विद्यालयका सबै सवारी साधनमा एउटै रंग बनाउने उल्लेख छ ।

विद्यालयका सवारी साधनको चालकलाई खाकि कपडाको ड्रेस र परिचालकलाई निलो टल्किने स्टिकर भएको ज्याकेट अनिवार्य लगाउनु पर्ने सहमति भएको छ । ट्राफिक प्रहरीले यस्ता सवारी साधनलाई एम्बुलेन्स सरह प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापन गर्ने सहमति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए।

सवारी चालक र सहचालकले सवारी चलाएको समयमा मादक पदार्थ र सूर्तीजन्य पदार्थ सेवन गर्न नपाउने, मोबाइल फोनमा कुरा गर्न नपाउने, कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय पोशाकमा मोटरसाइकल र स्कुटी चलाउन नदिइने र विद्यार्थीलाई सवारी नियम र ट्राफिक ज्ञान दिइने पनि सहमति भएको चौधरीले जानकारी दिए ।

ट्राफिक प्रहरी प्रमुख , प्याबसन, एनप्याबसन र विभिन्न विद्यालय संचालकहरुको उपस्थितीमा भएको निर्णय जस्ताको त्यस्तै–

– विद्यालयको स्वामित्वमा रहेको सवारी साधनहरुलाई २०७५ साल वैसाख १ गते सम्ममा सुन्तलारपहेलो रङ बनाई सक्नु पर्नेछ । सो मिति पछाडि पहेलो रङ नबनाएमा सवारी साधन संचालन गर्न पाईने छैन ।
– विद्यालयका सवारी साधनहरु सडकमा पार्क गर्न पाइने छैन। सडकमा पार्क गर्नेहरुले १ हप्ता भित्र उक्त सवारीको पार्किङ व्यवस्थापन गरिसक्नु पर्नेछ ।
– विद्यालयका सवारी साधनको चालकलाई खाकि कपडाको ड्रेस र परिचालकलाई निलो टल्किने स्टिकर भएको ज्याकेट मिति २०७५ वैसाख १ गते बाट लागु हुने गरी ड्रेसको व्यवस्था गर्ने ।
– सवारी साधनका चालक, परिचालकलाई स्बन्धित विद्यालयले परिचय पत्र उपलब्ध गराउनु पर्नेछ ।
– सवारी साधनका चालक, परिचालकहरुले स्कुलको समय अबधि भरि धुम्रपान,मद्यपान तथा खैनी, गुट्खा इत्यादि सेवन गर्ने तथा मोबाईल फोनको प्रयोग गर्न पाउने छैनन्। मोबाइलको प्रयोग गर्नु परे परिचालकले गर्नेछ।
– कुनै पनि विद्यालयका सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी विद्यार्थि बोक्न पाउने छैन।
– विद्यालयका सवारी साधनहरु दुरुस्त अवस्थामा हुनु पर्ने छ ।
– नयाँ शैक्षिक सत्रबाट बिद्दालयका बसहरु तोकिएको बिसौनीमा मात्र रोकी विद्यार्थी चढाउने र ओराल्ने गर्नाका लागि व्यावसन र एनप्यावसनले व्यवस्था मिलाउने र ट्राफिकले सहयोग गर्नेछ ।
– विद्यार्थीहरुलाई ट्राफीक नियम सम्बन्धि ज्ञान दिलाउन विद्यालयहरुमा तथा सडकहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।

माथि उल्लिखित निर्णयहरु पलना नगरिए सवारी साधन संचालनमा रोक लगाईने जनाईएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved