आयोजकलाई हराउँदै कोलकाताको गरिफा अन्तिम चारमा

  • प्रकाशित मितिः माघ १०, २०७४
  • 24 पटक पढिएको
  • मधेश स्पेशल

माघ १०, २०७४ / इटहरी: मदन भण्डारी स्मृति इटहरी गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई १ –० गोलले हराउँदै भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

गरिफाका तर्फबाट खेलको सुरुवाती मिनेटमै सिसे सोलासले गोल गर्दै टिमलाई अग्रता दिलाए । अफ्रिकन खेलाडीको बाहुल्यतासँगै मैदानमा रक्षात्मक पंक्तिमा उत्रिएको गरिफाले सुरुआती चरणमै गरेको गोल आयोजक राष्ट्रिय जागृति क्लबलाई हराउन निर्णायक बन्यो ।

घरेलु मैदान र दर्शकको साथ पाएको जागृतिले केही आक्रमक प्रयास गरेपनि गरिफाको रक्षात्मक पंक्तिलाई तोड्न सकेन । केही राम्रा अवसरको सदुपयोगबाट चुकेको जागृतिले खेलमा रणनीति परिवर्तन गर्दा समेत गोल गर्नबाट चुक्यो ।

पोस्टम्याच कन्फरेन्समा बोल्दै जागृतिका प्रशिक्षक श्याम मानन्धरले गरिफाको ‘स्ट्राटेजी’ बुझ्न नसक्दा घरेलु मैदानमै आयोजकले हार बेहोर्नु परेको बताए । “खेलाडी बीच कम्युनिकेशन नमिलेका कारण गोल खान पुग्यौं, केही राम्रा अवसर भए पनि गोल गर्नबाट चुकेकै हो ।”

कोलकातामा टिम म्यानेजर सञ्जय विश्वासले नयाँ मैदान भएका कारण टिमले अपेक्षित खेल प्रदर्शन गर्न नसकेको बताए ।

मुलुककै सबैभन्दा बढी नगद राशिको यो प्रतियोगिताका विजेताले अढाई तोला सुन र ८० तोला चाँदीबाट बनेको गोल्ड कपसँगै १२ लाख नगद प्राप्त गर्ने छ भने उपविजेताले ट्रफी, मेडलसहित नगद ५ लाख पाउने छ । बुधबारको पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब काठमाडौं र विभागीय टिम त्रिभूवन आर्मी क्लब काठमाडौं बीच हुने आयोजकले जानकारी दिएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved