रुसको तापमान –६७ डिग्री पुगेपछि आँखाको परेलासमेत जम्न थाल्यो ?

  • प्रकाशित मितिः माघ ४, २०७४
  • 127 पटक पढिएको
  • मधेश स्पेशल

माघ ४, २०७४ / काठमाडौं: १० लाख मानिसहरुको वासस्थान रहेको रुसको यकुटिया क्षेत्रमा मंगलबार –६७ डिग्री तापमान पुगेपछि चिसोका कारण मानिसहरुको परेला समेत जम्न थालेको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ ।

आइतबारको तापमान –५० डिग्री हुँदा लिएको तस्बिरमा महिलाहरुको परेला हिउँका कारण जम्न पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । त्यस्तै ट्वीटरमा पनि एक व्यक्तिले राखेको भिडियोमा भर्खर उमालेको पानीलाई झ्यालबाट बाहिर फ्याँके लगत्तै पानी जमेर तल झरेको देखिएको बताइएको छ ।

यकुटियाका वासीन्दाहरुले यसअघि पनि धेरै चिसो मौसमको सामना गरिसकेका छन् । त्यहाँका विद्यार्थीहरु –४० डिग्री हुँदा समेत स्कुल जाने गरेका छन् तरपनि मंगलबार भने तापमान झरेर –६७ पुगेपछि सो क्षेत्रका सबै विद्यालय लगायत अन्य कार्यालयहरु बन्द गरिएको बताइएको छ । अभिभावकसमक्ष बालबालिकालाई घरभित्रै राख्न पुलिसहरुले आग्रह गरिरहेको बताइएको छ ।

मंगलबार –५० डिग्रीसम्मको तापमान मापन गर्न सक्ने थर्मोमिटरको मर्करी अन्त्यसम्म पुगेपछि तापमान अझै कम रहेको बताइएको थियो । अहिलेसम्म त्यहाँ मापन गरिएको सबैभन्दा कम तापमान –७१ डिग्री भएको बताइएको छ । रुसको राजधानी मस्कोउबाट ५ हजार किलोमिटर टाढा रहेको यो क्षेत्रको तापमान सामान्यतया १८ देखि –४० सम्म रहने गरेको बताइएको छ । यसवर्ष भने चिसो अत्याधिक बढेपछि शनिबार दुई जनाको मृत्यु भएको बताइएको छ । गाडि बिग्रिएर नजिकैको घरमा मद्दत माग्न जाँदै गर्दा बाटोमै चिसोले जमेर तिनीहरुको मृत्यु भएको हो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved