भारतको प्राथमिकतामा अब मधेश रहेन– नेता साह

  • प्रकाशित मितिः पुष २६, २०७४
  • 53 पटक पढिएको
  • मधेश स्पेशल

पुष २६, २०७४ / ईटहरी: राजनीतिक विश्लेषक तुलानारायण साहले मधेश शक्तिविहीन भएकोले कुनै पनि यतिबेला शक्तिकेन्द्रको साथ नरहेको बताएका छन् ।

मधेश आन्दोलनको ११ वर्ष विषयक मधेश मन्थन कार्यक्रममा मधेश मामिलाका जानकार मानिने साहले भने, ‘जोसँग शक्ति हुन्छ, त्योसँग मात्र शक्ति केन्द्र हुन्छ । मधेश शक्तिमा छैन त्यही भएर मधेशीसँग न चीन छ न भारत ।’ उनले भने, ‘संविधान जारी भएपछि भारतको प्राथमिकतामा मधेश रहेन, संविधान निर्माण भएपछि उसको प्राथमिकतामा काठमाडौँ पर्यो ।’

उनले छिमेकी पनि बलियोसँग मात्र हुने भन्दै भारत यतिबेला नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको साथमा रहेको टिप्पणी गरे । मधेशवादी दललाई भारतले आफ्नो स्वार्थको लागि मात्र प्रयोग गरेको उनको भनाई थियो । मधेसवादी दललाई प्रयोग गरेर भारतले तीन दललाई फुटाएको स्मरण गर्दै उनले एमालेलाई एक्ल्याउनका लागि मात्र सुशील कोइरालालाई मत हाल्न मधेशवादी दललाई भारतले बाध्य पारेको टिप्पणी गरे ।

संविधान निर्माण भएपछि भारतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोकेर खेलिरहेको दावी गर्दै विश्लेषक साहले हालसम्म पनि प्रचण्ड भारतकै मोहरा बनिरहेको पनि दाबी गरे ।
२०७० पछि काँग्रेस, एमाले र राप्रपा एउटा शक्ति बन्यो भने अर्को शक्ति मधेशवादी दल र माओवादी केन्द्र एउटा शक्ति बनेकोे उल्लेख गर्दै साहले अन्ततः पहिलो शक्तिले मधेशी दल र माओवादीको शक्तिलाई टुक्राउन सफल भएको बताए ।


त्यसपछि २०६४ देखि २०७० सम्म सत्ताको राजनीति भएको उनको टिप्पणी थियो । उनले भने, ‘माओवादीले त्यतिबेला पहिलो प्राथमिकतामा शान्ति प्रकृयालाई राखेको थियो भने दोस्रो प्राथमिकतामा सत्तालाई राखेको थियो । एमालेले पहिलो प्राथमिकतामा सत्तालाई राखेको थियो दोस्रो प्राथमिकतामा शान्ति प्रकृयामा राखेको थियो । त्यस्तै मधेशवादी दलले पहिलो प्राथमिकतामा सत्तालाई राखेको थियो भने दोस्रो प्राथमिकतामा सविधानलाई राखेको थियो । काँग्रेसले दुईटै दललाई लडाएर संविधान निर्माण प्रकृयालाई कसरी लम्ब्याउन सकिन्छ त्यसको खेलमा थियो । अर्थात संविधान निर्माण कसैको प्राथमिकतामा थिएन ।’

२०६३ को पहिलो मधेश आन्दोलनदेखि २०७२ को तेस्रो मधेश आन्दोलनसम्मका विभिन्न आयामहरुका बारेमा उनले कार्यक्रममा विश्लेषण गरेका थिए । उनले २०६४ फागुन १६ गते भएको ८ बुँदे सम्झौता भारतले गराएको दावी गरे ।

उनले अन्तिममा भने, ‘१० वर्षको अवधिमा उदाएका नेताहरु ‘कू’ मा परेका छन् । काठमाडौँले ती नेताहरुलाई आफ्नोमा समाहीत गरिसकेको छ ।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved