हातैमा चाबी छ, पार्किङबाट गाडी गायब !

  • प्रकाशित मितिः पुष २४, २०७४
  • 127 पटक पढिएको
  • मधेश स्पेशल

पौष २४ २०७४ / विराटनगर: विराटनगरको अतिव्यस्त महेन्द्र चौकमा पार्किङमा राखेको मारुती भ्यान एकाएक गायब भएपछि गाडी मालिक तथा चालकले गोजी छामे । विराटनगरको चिसोमा चिटचिट पसिना सरी भएका उनले चाबी निकाले र यताउता पल्टाएर हेरे ।

स्टेण्डमा को १ ज १४२३ नम्बरको मारुती भ्यान रोकेर खाना खान होटल पसेका विराटनगर–११ का दुर्गाबहादुर दाहालसँग झस्कनु बाहेक अर्को विकल्प रहेन । भर्खरै बेलुकाको साढे आठमात्रै बजेको थियो । निक्कैबेर यताउता खोजी गरेपछि दाहालसहित अन्य सवारी चालकले प्रहरीलाई गुहारे ।

गत पुस १० गतेमात्र विराटनगर–१८ का हैदर अलिसँग दाहालले खरिद गरेका थिए त्यो भ्यान । प्रहरीमा खबर गरिएपछि मोरङ प्रहरीपनि छक्क प¥यो । मोटरसाइकल र मोबाइल चोरीका घटनाले हैरान पारिरहेको मोरङ प्रहरीलाई गाडी नै चोेर्ने गिरोह सक्रिय भएको भनेपछि चिन्ता बढ्यो ।

दाहालको उजुरीका आधारमा प्रहरीले सक्रियता बढाएसँगै मोरङ गोविन्दपुरका २६ वर्षिय राजेन्द्र राजबंशी गाडीसहित पक्राउ परे । बरगाछीमै पक्राउ परेका उनलाई जिल्ला प्रहरी पुर्याउनु थियो । उनै राजबंशीले चोर्ने साहस गरेको गाडीमा एकजना प्रहरीलाई राखेर चालक राजबंशीलाई नै बनाइयो । प्रहरीसँग अगाडि बढेका राजबंशीले गाडी हुइँक्याए, पुष्पलाल चौकतर्फ, जान मानेनन् जिल्ला प्रहरी कार्यालय ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णुहरी कोइरालाका अनुसार विराटनगर बरगाछीमा गाडी लिएर भाग्दै गरेको अवस्थामा राजबंशीलाई नियन्त्रणमा लिइएको थियो । पछाडि प्रहरीको गाडीले स्कर्टिङ गरेको छ तर राजबंशीले आफूसँग भेनमा भएका प्रहरीको मोवाइल खोसेर प्रहरीलाई नै बन्धक बनाइसकेका थिए । बल्लबल्ल पुष्पलाल चौकको प्रहरी टोलिसँग पछाडिको स्कर्टिङको गाडीले सम्पर्क माग्यो । राजबंशीलाई दोस्रो पटक नियन्त्रणमा लिनु पर्यो ।

पक्राउ परेका राजबंशीमाथि चोरीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । तर, उनी चानचुने चोर मात्रै नभएर ठूलै योजनाकारसमेत रहेको प्रहरीको आशंका छ । नियन्त्रणपछि समेत गाडीमा रहेका प्रहरीलाई बन्धक बनाएर राजबंशीले हल्ला गरे ज्यान मार्ने धम्कीसमेत दिइएका थिए । प्रहरीसँगको बयानमा राजबंशीले आफैं चालक भएको र चोरेका गाडीहरू सीमा कटाएर पूर्जा बिक्री गर्ने गरेको बताएका छन् ।

मोरङ प्रहरीले भ्यान चोर्ने राजबंशीसहित लागु औषध कारोबार गर्दै आएका विराटनगर १७ का बिनोद पंजियारलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved