​यस्ता पनि छोरा जस्ले ब्रेन ह्यामरेज भएकी आमालाई सम्हाल्न नसकेर छतबाट खसालेर मारे

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 61 पटक पढिएको
  • मधेश स्पेशल

पुष २१, २०७४: भारतको गुजरातस्थित राजकोटमा एक प्राध्यापकले आफ्नी बिरामी आमालाई छतबाट फ्याँकेर हत्या गरेका छन् ।

दुई महिनादेखि ब्रेन ह्यामरेजका कारण बिरामी परेकी आमालाई उपचार र स्याहार गर्नको झन्झटले प्राध्यापकले उनलाई मारेका हुन् । यो घटना सेप्टेम्बर महिनामा भएको थियो तर त्यसको खुलासा भने बिहीवार मात्र भयो ।

पहिला यो घटनालाई प्रहरीले आत्महत्याको रुपमा हेरेको थियो र यो घटनाको फाइल बन्द गरेको थियो । तर जब एउटा बेनामे चिट्ठी प्रहरीलाई आएपछि सीसीटीभी क्यामरा फूटेज हेर्दा चाहिँ छोरोले आमालाई छततिर लगेको देखियो ।त्यसपछि प्रहरीले प्राध्यापकको सन्दीपलाई कडा सोधपुछ गरेपछि उसले सही कुरा बतायो ।

प्राध्यापकको आमाको नाम जयश्रीबेन हो । उनी एक शिक्षिका थिइन् ।

दुई महिनादेखि उनी ब्रेन ह्यामरेजका कारण बिरामी परेकी थिइन् । उनका दुई छोरी र एक छोरो छन् । उनी सन्दीप, बुहारी रचना र नातिनीका साथ बस्ने गर्थिन् । सासू बुहारीमा मनमुटाब थियो ।

प्रहरीले सीसीटीभी फूटेजको मिहिन विश्लेषण गर्दा घटना भएको दिन बिहान नौ बजेतिर सन्दीपले आमालाई छत लगेको देखिएको थियो । आमालाई छतबाट तल फ्याँकेपछि सन्दीप आमाकै चप्पल लगाएर तल झरेको थियो । आमालाई माथि लाँदा खाली खुट्टामा रहेको सन्दीपको तल झर्दा चाहिँ चप्पलमा देखिएको थियो ।

सन्दीपले प्रहरीलाई झुक्याउन धेरै कोशिश गरेको राजकोटका प्रहरी डीसीपी करनराज वाघेलाले बताए । सुरुमा त सन्दीपले आमालाई सूर्यपूजा गराउन छतमा लगेको बताए । प्रहरीले बिरामी आमा कसरी साढे दुई फीटको रेलिङ पार गर्न सक्छिन् भनी प्रश्न गर्दा उसले जवाफ दिन सकेको थिएन ।

प्रहरीले सन्दीपलाई कडा सोधपुछ गरेपछि उसले आमालाई छतबाट फ्याँकेको कुरा मान्यो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved