शहिद स्मृति माविमा कम्प्युटर इञ्जिीयरिङ

  • प्रकाशित मितिः पुष २१, २०७४
  • 31 पटक पढिएको
  • रश्मी प्रधान

पुष २१, २०७४ / धरानः धरानका पुराना सामुदायव्दारा स्थापित विद्यालयहरु मध्ये एक धरान–८ स्थित शहिद स्मृति विद्यालय स्कुलको भौतिक एवं शैक्षिक विकासको लागि तात्तिएको छ । विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रधानाध्यापक रामबहादुर विष्टले शैक्षिक गुणस्तरमा अगाडि भएतापनि अन्य विद्यालयहरुको तुलनामा भौतिक विकासले पछाडि परेको शहिद स्मृतिलाई समुदायको सहयोगमा अघि बढाउन आफु लागिपरेको बताए । उक्त विद्यालय आजभन्दा ६० वर्ष अघि २०१४ सालमा स्थापना भएको हो ।

बदलिदों शैक्षिक बातावरण अनुसार विद्यालय लाई प्राविधिक विषयमा अग्रणी बनाउन अब स्कुलमा कक्षा ९ देखी कम्प्युटर इञ्जिनीयरिङ पठन पाठनको तैयारी भैरहेको उनले बताए । नयाँ प्राविधिक विषय शिक्षण कक्षा सञ्चालनका लागि विद्यालयको भौतिक पूर्वाधार तयार गर्नुपर्ने भएकोले जनसहयोग जुटाउन यसपाली विद्यलयमा श्रीमद्भागवद् ज्ञान महायज्ञको आयोजना हुन गई रहेको उनले बताए । उनले भने ‘महायज्ञबाट आवश्यक सहयोग जुट्ने विश्वास गरेका छौं, त्यही सहयोगबाट विद्यालयको भौतिक पूर्वाधार निर्माणका काम थालिने छ ।’

बिद्यालय परिसरमा आयोजना गरिने महायज्ञ माघ १० देखि शुरु भई १७ गते सम्म चल्नेछ । उक्त मद्भागवत सप्ताहमा कथा वाचक बराहक्षेत्र मन्दिरका मुख्य पुजारी पण्डित योगेश भट्टराई रहने उनले बताए । प्रधानाध्यापक विष्टका अनुसार नयाँ शैक्षिक विषय कम्प्युटर इञ्जिनीयरीङको प्राविधिक एवं शैद्धान्तिक कक्षाका लागि विद्यालयमा पूर्वाधार स्वरुप १२ कोठा भवन निर्माण गर्नुपर्ने भएकोले सहयोग जुटाउन मद्भागवद सप्ताह आयोजना गर्न लागिएको बताए । उनले भने ‘विद्यालयले सहयोगका लागि हात फैल्याएको छ, आशा छ, उदार दाताहरुबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved