राजधानी माग्न काठमाण्डौं तिर

  • प्रकाशित मितिः पुष १९, २०७४
  • 65 पटक पढिएको
  • मधेश स्पेशल

पुष १९, २०७४ / धरानः प्रदेश १ को राजधानी कायम गर्ने सवालको तानात अहिले करिब अन्तिम चरणमा पुगेको छ । यो तानातानमा धरान, विराटनगर, धनकुटा र इटहरी तिब्र प्रतिस्पर्धामा छन् । सामाजिक सञ्जालमा शहरी विकास मन्त्रालयले प्रदेश १ सहित सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार गरिएको कुरा भाइरल बनाएपनि उक्त खाकाले अहिले सम्म मन्त्रि परिषदको बैठकमा प्रवेश भने पाएको छैन् । त्यस्तो खाका मन्त्री परिषद बैठकमा प्रवेश भएको अवस्थामा जस्ताको त्यस्तै पारित हुने सम्भावना भने छैन् । त्यसैले पनि राजधानीका दावेदार चारै शहरका स्थानिय राजनीतिक नेतृत्वहरु मार्थी पहुँच बाउने दोडधुपमा छन् ।

यसै क्रममा धरान पनि पछि नपर्ने भएको छ । धरान लाई राजधानी कायम गराउन माथील्लो तह सम्म दबाबाका साथै पहुँच भएकाहरुबाट लबिङ गराउन मंगलवार ५ सदस्यिय प्रतिनिधि मण्डल काठमाण्डौ प्रस्थान गरेको छ । धरान उपमहानगरकी उपमेयर मञ्ज भण्डारीको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका पूर्व नगर सभापति किशोर राई, नेकपा एमालेका नगर अध्यक्ष नारायणप्रसाद सुवेदी, माओवदी केन्द्रका धरान नगर इञ्चार्ज चोत्लुङ लिम्बु, संघीय समाजवादी फोरमका नगर सचिव ताज्जुव लिम्बु र धरानलाई राजधानी बनाऔं स्वतन्त्र समितिका संयोजक आइन्द्रविक्रम बेघा र सचिव श्याम पोखरेल रहेका छन् ।

प्रतिनिधि मण्डलले औपचारीक÷अनैपचारिक रुपमा सम्बद्ध मन्त्रालय, मन्त्रीहरु तथा प्रधानमन्त्री शेरबहादुर देउवा समेत संग प्रत्यक्ष भेटेर धरानमा राजधानी कायम गर्न पर्याप्त पूर्वाधार र पृष्ठभूमीका विषयमा लिखित आधारहरु सहितको मागपत्र बुझाउने छ । साथै प्रतिनिधमण्डलमा सहभागी नेताहरु सम्बद्ध राजनीतिक दलहरुका नेता मन्त्रीहरु संग भेटगरी दबाबका साथै लबिङ गर्ने गतिविधिहरु गर्नेछन् । स्वतन्त्र समितिका सचिव श्याम पोखरेलका अनुसार प्रतिनिधि मण्डलले धरान उपमहानगरपालिकाले औपचारिक रुपमा गरेको निर्णय सहित प्रदेश राजधानीका लागि आवश्यक मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रालयहरुका लागि आवश्यक तैयार पूर्वाधारको विवारणका साथै हालसालै खिचिएका रंगीन तस्विरहरु साथै लिएर गएका छन् ।
राजधानी माग गर्दै आएको धनकुटा, विराटनगर, इटहरीले यसअघि काठमाण्डौ पुगेर यस्ता गतिविधिहरु गर्दै आएका छन् । धनकुटाले काठमाण्डौ स्थित माइती घरमा प्रदर्शन समेत गरेको छ । उनिहरुले मन्त्री समेतलाई सार्वजनिक रुपमा राजधानी मागको आन्दोलनमा सरीक गराएकाले धरानका अभियानकर्मीहरु लाई पनि त्यस्तो गतिविधिका लागि दवाव परेको हो । धरानमा राजधानी माग गर्दै सार्वजकि स्थलामा अनिश्चितकालिन धर्ना, हस्ताक्षर अभियान सञ्चालन गर्दै आएतापनि त्यति मात्रले राजधानी आउन नसक्ने टिप्पणीहरु हुन थालेपछि नगरपालिकाको नेतृत्वमा दबाबमुलक प्रतिनिधि मण्डल गएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री परिषदले नै टुंगो लगाउन प्रदेशको पहिलो सभाका लागि स्थान तोक्ने तथा राजधानीको निर्णय यसअघि पुष १३ गते बस्ने मन्त्री परिषदको बैठकले गरिने भनिएता पनि उक्त बैठकमा प्रदेश सम्बन्धि कुनैपनि एजेण्डा नै प्रवेश भएन । यता प्रदेश १ को राजधानी कायम गराउन धरान, धनकुटा, इतहरी र विराटनगरमा स्थानिय गतिविधिका साथै काठमाण्डौमा लबिङ, दबाबले तिब्रमा बढेपछि दबाब कै कारण राजधानीको एजेण्डा पेश नभउको अनुमान गरिएको छ । जारी संविधान अनुसार प्रदेशको नामाकरण र राजधानी प्रदेश सभाले निर्णय गर्ने व्यवस्था छ । तथापी प्रदेश सभाको पहिलो बैठक कहाँ गर्ने तथा अस्थायी राजधानीको रुपमा ठाउँ चयन गर्ने निर्णय अहिलेको सरकारले गर्नसक्ने भएको भन्दै पछिल्लो समय स्थानिय दवाव र केन्द्रिय तहमा लबिङ जोडतोडका साथ भैरहेको हो । धरान, इटहरी, धनकुटा र विराटनगरमा चुनावका बेला प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले राजधानी आ–आफ्नै ठाउँमा ल्याउने प्रतिबद्धता चुनावी घोषणापत्रमा समेत व्यक्त गरेकाले पनि राजधानीको सवाल चर्को रुपमा उठेको हो ।

यो महोलका विचमा सामाजिक सञ्जाल र चुनावका बेला खुलेका अनलाइनहरुले आआफ्नै किसिमले प्रोपेगण्डाको विषय बनाउन थालेका छन् । प्रदेश १ बाट निर्वाचित एकै दलका सांसद÷प्रदेश सभा सदस्यहरु विच पनि राजधानी कहाँ राख्ने विषयमा एकमत भने देखिएको छैन् । प्रदेश १ मा एमालेको बहुमत भएकाले सुनसरी १ (ख) का प्रदेश सभा सदस्य भीम आचार्य तथा भोजपुर बाट प्रदेश सभामा आएका शेरधन राई मुख्यमन्त्रीका दावेदार छन् । दलहरुका स्थानिय कार्यकर्ताहरु भने राजधानी आफ्नो ठाउँमा ल्याउने भन्दै अभियानमा लागेका देखिन्छन् । पछिल्लो समय प्रदेश सभाको पहिलो बैठकका लागि जोडतोड चलेको छ । साथै मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुखका कार्यालयहरु भिन्न स्थानहरुमा राख्न सकिने लबिङ पनि चलिरहेको छ ।

यसैविच राष्ट्रिय समाचार समिति (रासस)को मंगलवार दिएको समाचार अनुसार सरकारको सहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको जनाएको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको बताइएको छ । अस्थायी रूपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रूपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ । सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिएको बताए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved