निर्वाचनपछि समृद्ध मधेशका आधारहरू

  • प्रकाशित मितिः पुष १४, २०७४
  • 1014 पटक पढिएको
  • रामसुकुल मण्डल

पुष १४, २०७४: निर्वाचनबाट संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ भने गणतन्त्र सुनिश्चित हुनुका साथै संघीय संरचना स्थापित भएको छ । निर्वाचनपछि आम मधेशीजनमा पनि यसले राजनीतिक स्थायित्वको विश्वास बढाएको छ र स्थिर सरकार तथा मुलुकको समृद्धिप्रति अपेक्षा जगाएको छ । त्यसैले अहिले भएका निर्वाचन अन्य आवधिक निर्वाचनभन्दा महत्वपूर्ण र विशेष छन् ।

मधेशमा मतदाताले तीनै तहको निर्वाचनमा देखाएको उत्साह लोकतन्त्रप्रति उनीहरूको बलियो विश्वास हो । उनीहरूको विश्वासलाई जीवन्त राख्ने प्रमुख जिम्मेवारी निःसन्देह मधेशी दल एवम् चुनावबाट चुनिएका जनप्रतिनिधिहरूको हो ।

मधेशी जनताले आफ्नो दायित्व पूरा गरेका छन् र अब जनअपेक्षाअनुरूप काम गर्नुपर्ने परीक्षा जनप्रतिनिधिहरूको छ । निर्वाचन सम्पन्न गरेर देशले ठूलो फड्को मारिरहँदा, मधेश र मधेशीको अपेक्षालाई अक्षरशः पूरा गर्ने चुनौती अब मधेशी दल र तिनबाट जितेका जनप्रतिनिधिहरूको काँधमा छ । तर उनीहरूले नीतिगत, संस्थागत संरचना निर्माण, आर्थिक नीति निर्माण र सांगठनिक पुनर्निर्माणका चुनौती पनि सामना गर्नुपर्छ ।

संविधानले प्रत्याभूत गरेका राजनीतिक नैसर्गिक अधिकारसँगै मधेशीसहित अन्य दलहरूले सबैका लागि शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्ने वाचा घोषणापत्र मार्फत जाहेर गरेका छन् । अब बन्ने प्रदेश सरकारले यी प्रतिवद्धता कसरी पूरा गर्ने ? कुन आयस्रोतमा टेकेर ? कस्तो संस्थागत संरचनामार्फत र कस्तो आवधिक योजनामा टेकेर ती सामाजिक उपलब्धिहरू हासिल गर्न सकिन्छ ? यी प्रश्नहरू अनुत्तरित छन् ।

सपना र व्यवहारबीच तादात्म्य नमिल्दा आम जनतामा विश्वास गरिहाल्ने ठाउँ छैन । तीनवटै तहको निर्वाचन सम्पन्न हुनुलाई राजनीतिका साधक तथा चिन्तकहरूले प्रथम राजनीतिक चक्र अर्थात दशक लामो संक्रमणकाल सम्पन्न भएको बताउने गरेका छन् । वास्तवमा एउटा चक्र पूरा भएको छ र नबिसाई अर्को चक्र अविलम्ब सुरू हुँदैछ । यसको अर्थ अरू धेरै राजनीतिक तथा सामाजिक व्यवस्थापन गर्नुपर्ने अवस्था आउँदैछ, मधेशी दलहरूको काँधमाथि । नयाँ संविधानले नागरिकका लागि ३४ वटा मौलिक हक र कर्तव्यको व्यवस्था गरेको छ । तर व्यवहारमा त्यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ ?

आ–आफ्नै विशेषता अनुसार कृषि, उद्योग, पर्यटन, जलविद्युत, वित्तीय पुँजीमध्ये कुन क्षेत्रको अगुवाइ वा नेतृत्वमा सहायक मोडलहरू तयार गर्ने भन्ने अर्को ठूलो चुनौती हो । सुरक्षित तथा योजनाबद्ध बसोबासको व्यवस्था, सार्वजनिक यातायात र ‘कनेक्टिभिटी’, दूरसञ्चार सञ्जाल, स्कुल, कलेज र स्वास्थ्य संस्थाहरूको व्यवस्थापनजस्ता पूर्वाधार खडा गर्नुपर्ने अर्कोे चुनौती हो ।

विभिन्न कालखण्डमा मधेशी नेताहरूमध्ये राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले भन्दै आएका छन्–‘मधेश आफैमा एउटा राष्ट्र हो ।’ यस भनाईको तात्पर्य मधेश छुट्टै राष्ट्र हुनुपर्छ भन्ने होइन । उनको भनाईको आशय के हो भने मधेश एउटा राष्ट्र हुनका लागि हरेक दृष्टिकोणबाट परिपूर्ण छ ।

मधेशमा हरेक किसिमका सम्भावनाहरूको उपस्थिति छ । प्राकृतिक स्रोत साधनदेखि लिएर यो प्राविधिक युगमा एउटा नमुना क्षेत्रको रूपमा रहेको छ । मधेशमा यति धेरै विकासका सम्भावनाहरू हुँदाहुँदै राज्यको विभेदकारी नीतिका कारण मरूभुमिमा परिणत हुँदै गइरहेको छ । मधेशका कलकारखाना, उर्बरा तथा कृषियोग्य भूमि अहिले मरूभूमिझै हुन थालेको छ । कुनै समय थियो, मधेशमा उब्जेका धान, गहुँ लगायतका अन्न विदेश निर्यात गरिन्थ्यो । तर, अहिले निर्यात त परैको कुरा हो, आयात नै गर्नुपरेको छ ।

मधेशका पर्यटकीय स्थलहरू जनकपुरधामको जानकी मन्दिर, लुम्बिनी लगायतका ऐतिहासिक धरोहर अहिले जीर्ण अवस्थामा छन् । जनकपुरधामको जानकी मन्दिर विश्व सम्पदा सूचीमा पर्न सकेको छैन ।

विगतमा राज्यले मधेशसँग विभेद ग¥यो भनेर विभिन्न आन्दोलनहरू पनि भए । मधेश राजनीतिक रूपमा एउटा उर्वर भूमिको रूपमा प्रयोग हुँदै आयो भने मधेशका अन्य पक्षहरू आर्थिक, सामाजिक अवस्था भने खस्कँदै गयो । मधेशका सयौं युवाहरू दिनहुँ विदेशिन बाध्य हुँदै आएका छन् । मधेशमा जिविकोपार्जनका माध्यम नहुँदा घरपरिवार पाल्नका लागि विदेशिनु पर्ने पीडा त छँदैछ । जहाँ हरेक चीजको सम्भावना हुँदाहुँदै मरूभूमिकरणमा परिणत हुनु दुर्भाग्यपूर्ण हो ।

विकासको दृष्टिकोणले हेर्दा मधेशमा रहेका विकासका पूर्वाधारहरू नभएका होइनन, तर अब त्यसलाई पुनः सञ्चालनमा ल्याउन जरूरी छ । अनि मात्र सुन्दर मधेशको परिकल्पना पूरा हुनसक्छ । नेपालको एक मात्र रेल सेवा जनकपुरदेखि भारतको जयपुरसम्म पुनः सञ्चालनका कार्य अगाडि त बढेको छ तर कछुवा गतिमा कार्य भइरहेको छ ।

प्रतिनिधि तथा प्रदेशसभापूर्व विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमार्फत् सार्वजनिक गरेको विकासका प्रतिबद्धता साँच्चिकै व्यवहारमा लागू गर्ने हो भने सुन्दर मधेशको परिकल्पना पूरा हुनसक्छ । निर्वाचनको दुई हप्ता अगाडि राजपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गर्दै समृद्ध मधेशका लागि प्रतिबद्धता सार्वजनिक ग¥यो । अहिले निर्वाचनमा मधेशको मतादेशलाई हेर्दा यी प्रतिबद्धताहरू पूरा गराउन मधेशी दलका लागि एउटा अवसरको रूपमा रहेको छ ।

राजपा नेपालले हुलाकीमार्ग, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर–अन्तर्राष्ट्रिय पर्यटन स्थल एवंंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरूदण्ड, लुम्बिनी–अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्र, सूचना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको थियो ।

सहज आवागमन र सर सामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिवद्धता छ ।

जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरूमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रूपमा स्तरोन्नती गरिनुपर्छ । वीरगन्जलाई आधुनिक शहरको रूपमा विकास गर्दै यसलाई वैकिङ्ग, विमा, शेयर कारोवार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरू खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाईने, वीरगन्जलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोवार हुने सहरहरूसँग सरकारी स्तरमै जोडिने चुनावी एजेन्डालाई अहिले कसरी पूरा गर्ने भन्ने जिम्मेवारी मधेशबाट अत्याधिक मत ल्याएर विजयी भएकाहरूको काँधमा आएको छ ।

विराटनगर, भैरहवा र नेपालगन्ज नेपालको आर्थिक विकासको मेरूदण्डका रहेको छ । राजविराज, सिरहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरीया र महेन्द्रनगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने हो भने मधेश समृद्ध हुनुका साथै नेपालको अर्थतन्त्रमा ठूलो फड्को मार्नेछ ।

स्रोत


Copyright © 2017 - Madheshspecial.com All rights reserved