इन्जिनियरिङ्गका विद्यार्थीद्वारा पूर्वाञ्चल क्याम्पसमा तालाबन्दी

  • प्रकाशित मितिः पुष १३, २०७४
  • 70 पटक पढिएको
  • मधेश स्पेशल

१३, पुष २०७४ / धरान: पूर्वाञ्चल क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुले क्याम्मपश प्रशासनमा तालाबन्दी गरेका छन् । आर्किटेक्चर तेस्रो वर्ष र कृषि इन्जिनियरिङ्ग चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुको माग सम्बोधन नगरेको भन्दै मंगलबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन । कृषि इन्जिनियरिङ्ग विभागमा अध्ययनरत पदमरन्जन चौधरीले ०७० ब्याच हाल अध्ययनरत चौथो वर्षले दोस्रो खण्डको दुईपटक भर्ना शुल्क तिरेको र पटक पटक क्याम्पस फिर्ता गर्ने झुटो आश्वासन दिएको भन्दै तालाबन्दी गरेको सोही क्याम्पसमा अध्यनरत विद्यार्थी अनिल कँडेलले जानकारी दिए ।

प्रशासनले विगत १ वर्षदेखी दिएको झुटो आश्वासनप्रति स्व.वि.यु ले समेत चासो नदेखाएको भन्दै पुष ११ गतेदेखी अनिश्चित कालको लागि क्याम्पस प्रमुखको कार्यकक्ष र स्व.वि.युको कार्यलयमा तालाबन्दी गरेको उनले बताए । गत पुष ९ गते क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले लिखित रुपमा आफ्नो माग पत्र क्याम्पस प्रमुख जितेन्द्र चौधरीलाई सामुहिक रुपमा हस्तान्तरण गरेको र चौधरीले पुष ११ गते १० बजेकालागी विद्यार्थीहरुलाई छलफलकालागी बोलाएको र दिनको १ बजे विना निश्कर्ष छलफल टुंगिएको विद्यार्थीहरुले बताए । सो विषयमा क्याम्पस प्रमुख चौधरीले डिन र त्रिभुवन विश्व विद्यालय सँग छलफल भईरहेको जानकारी दिए ।

यता आर्किटेक्चर तेस्रो वर्षको पहिलो खण्डमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन अध्यापनका विषयमा देखापरेका समस्याहरुलाई क्याम्पस प्रशासन र आर्किटेक्चर विभागमा समेत जानकारी गराउँदा वेवस्ता गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको आर्किटेक्चर विभागमा अध्ययनरत विद्यार्थी सरोज दाहालले बताए । आर्किटेक्चरका विद्यार्थीहरुले शिक्षक, स्टुडियो हल, स्टुडियो हलमा चाहिने सरसामाग्री, स्टुडियो हल व्यवस्थापन, व्यवस्थित शिक्षक तालिका, छात्रा शौचालय थेउरि क्लासरुमको माग गर्दै आर्किटेक्चर विभागमा अध्ययनरत ४८ जना विद्यार्थीहरुले समुहिक रुपमा तालाबन्दी गरेको दाहालले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved