६ वर्षपछि ‘धरान रंगशाला’ फर्किने बुढासुब्बा गोल्डकप

  • प्रकाशित मितिः पुष १३, २०७४
  • 114 पटक पढिएको
  • मधेश स्पेशल

१३, पुष २०७४ / पानवारी: अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण पार गरी यस वर्ष २० औं संस्करण हुने तयारीमा छ ।

आयोजक धरान फुटबल क्लबले २०५५ सालमा पहिलो अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप सुरु गरेसँगै १३ वर्षसम्म निरन्तर धरान रंगशालामा प्रतियोगिता सम्पन्न ग¥यो । त्यसपछि धरान रंगशालामा भौतिक पूर्वाधारको निर्माण हुदै गरेकोले प्रतियोगिताको १४ औं संस्करणदेखी १९ औं संस्करणसम्म धरान स्थित एन्फा एकेडेमीमा सम्पन्न भयो । अझै धरान रंगशालाको निर्माण सम्पन्न भएको छैन यद्यपी जसोतसो खेल सञ्चालन गर्न सक्ने पूर्वाधार तयार भएकोले धरान रंगशालामा यसवर्षको प्रतियोगिता सञ्चालन गर्न लागिएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए ।

यस अघिका प्रतियोगितामा करिब आधा बजेट खेल मैदानमा अस्थायी संरचना प्याराफिट निर्माणदेखि फुटबल कोर्ट घेराबारा निर्माणमा खर्च हुने गरेको थियो । यसवर्ष धरान रंगशालाको कम्पाउण्ड घेराबारा तथा आंशिक रुपमा प्याराफिट समेत निर्माण भएको छ । त्यस्तै ‘फुटबल कोर्ट’ पनि तारजालिले घेराबारा गर्न ठेक्का लागीसकेको र बुढासुब्बा गोल्डकप सञ्चालन हुनु पूर्व घेराबारा सकिने भएकोले यसवर्षको बुढासुब्बा गोल्डकपमा उक्त बजेटमा न्युन खर्च हुने महासचिव तामाङले बताए ।

अहिले धरान रंगशालामा मैदानमा पानी लगाउनेदेखि मैदान सफा गर्ने काम सुरु भइसकेको पनि महासचिव तामाङले जानकारी गराएका छन् । उनले प्रतियोगिता चाडै हुने भएकोले रंगशालालाई तयारी अवस्थामा राख्न काम थालिसकेको बताए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved