पूर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानमा तालाबन्दी

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 52 पटक पढिएको
  • मधेश स्पेशल

पुष, ११, २०७४ / धरान: पूर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानमा विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले विद्यार्थीसँग दुईपटक शुल्क लिएको तर उक्त रकम फिर्ता पाउनु पर्ने माग पटक –पटक गर्दा प्रशासनले नदिने नियत देखाएपछि क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका हुन ।

मंगलबार विद्यार्थीहरुले क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा रकम फिर्ता नगरुञ्जेलका लागि भन्दै तालाबन्दी गरेका छन् । एग्रिकल्चर विभाग चौथो वर्षमा अध्ययनरत विद्यार्थी पद्मरञ्जन चौधरीको एग्रिकल्चर विभाग दोश्रो वर्षको दोश्रो खण्डमा करिब ३४ हजार रकम क्याम्पसले पचाउन खोजेको विद्यार्थीले आरोप लगाएका छन् ।

विद्यार्थीले आफूसँग दुईपटक एउटै प्रयोजनका लागि लिएको रकम फिर्ता गर्नुपर्ने माग गरेपनि क्याम्पस प्रमुख जितेन्द्र चौधरीले विल काटिसकेकोले डिन कार्यालयमा पत्र पठाइएको बताउँदै आएका थिए ।

दुई वर्षसम्म प्रशासनले रकम फिर्ता गर्न आनाकानी गरेपछि डिन कार्यालयमा विद्यार्थीले बुझेका थिए । डिन कार्यालयमा सो विषयमा आफूकहाँ केहि जानकारी नआएको बताएपछि क्याम्पस प्रशासनले नै नियतवश विद्यार्थीसँग बढि रकम असुलेको खुलासा भएको छ ।विद्यार्थी हक हितका निम्ति भनिएको स्ववियुले समेत उक्त समस्यालाई समाधान गर्न कुनै चासो नदिएकोले तालाबन्दी गरिएको एग्रिकल्चर विभाग चौथो वर्षका विद्यार्थी उदयकुमार ठाकुरले जानकारी दिए ।

उनले भने “आज तालाबन्दी गरेका छौं भोली रकम फिर्ता पाएनौं भने सडक बन्द गर्न बाध्य हुनेछौं । ” संघीय समाजवादी विद्यार्थी फोरम, नेपाल तराई विद्यार्थी नवजारण संघ, नयाँ शक्ति विद्यार्थी यूनियन र नेपाल कृषि इन्जिनियरिंग विद्यार्थी समाजले संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी तालाबन्दीसहितको आन्दोलनको नेतृत्व गरेको बताएका छन् ।

क्याम्पस प्रशासनले भर्ना शुल्क दुईपटक लिएको तत्काल फिर्ता गर्नुपर्ने वा उक्त रकम अर्को सेमेस्टरमा रकमान्तर गर्नुपर्ने माग गरेका छन् । क्याम्पस प्रशासनले आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएको छैन ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved