​एनसेलले नाफाको २५ अर्ब लाँदै

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 67 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १०, पुष २०७४ / काठमाडौं: एनसेलको तत्काल २५ अर्ब आठ करोड रुपैयाँ बाहिरिने देखिएको छ ।सर्वोच्च अदालतले लाभांशवापतको रकम विदेश लैजान बाटो खोलेसँगै सो रकम लाने देखिएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७२/७३ को लाभांश लैजान समस्या परेको बताउँदै अदालतमा मुद्दा दायर गरेको थियो । उक्त आवको लाभकर र स्वदेशी लगानीकर्ताले पाउनुपर्ने रकम कटाएर ६ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश लैजान पाउने छ । सोही नजिरमा टेकेर थप १९ अर्ब रुपैयाँ पनि उक्त कम्पनीले विदेश लैजान पाउने छ । दुवै हिसाब गर्दा २५ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश पुर्‍याउन लागेको हो ।

कम्पनीको सञ्चित खातामा भने ७५ अर्ब रुपैयाँ छ । ठूला करदाता कार्यालयले स्विडेनको टेलियासोनेराले आजियटालाई स्वामित्व बिक्री गर्दा कायम भएको पुँजीगत लाभकरसमेत कम्पनीले तिर्न बाँकी रहेकाले लाभांश रोक्दै आएको थियो ।

कम्पनीले लाभांश लैजाँदा त्यसको चाप देशको आयव्यय खाता (शोधानान्तर) र बैंकिङ प्रणालीमा पर्ने देखिएको छ । बैंकिङ प्रणालीबाट रकम बाहिरिने भएसँगै विदेशी मुद्राको सञ्चितिमा पनि केही दबाब पर्ने थापाको भनाइ छ । कात्तिकसम्ममा विदेशी मुद्रा सञ्चिति करिब ११ खर्ब पाँच अर्ब रुपैयाँ थियो ।

२५ अर्ब बाहिरिँदा १० खर्ब ८० अर्ब रुपैयाँ विदेशी मुद्रा बाँकी रहनेछ । कात्तिकसम्मको विदेशी मुद्रा सञ्चितिले साढे ११ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न सक्ने अवस्था थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved