जनकपुरमा तीन वर्षभित्र रामजानकी खेलकुद रंगशाला बन्ने

  • प्रकाशित मितिः पुष ६, २०७४
  • 815 पटक पढिएको
  • मधेश स्पेशल

काठमाडौं , पुस ५: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० र्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ । जग्गा लिजसम्बन्धी सम्झौतापत्रमा आइतबार राखेपका सदस्यसचिव केशवकुमार विष्ट र गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रमुख नारायण चौधरीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार राखेपले गुठी संस्थानलाई बर्से्नि नौ लाख रुपैयाँ प्रदान गर्नेछ । राखेपले उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियम निर्माण गर्न लागेको जानकारी सदस्यसचिव विष्टले दिए । यसैगरी उक्त जग्गामा बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर पनि निर्माण गरिने सदस्यसचिव विष्टले बताए ।

‘विशेषगरी क्षेत्र नम्बर २ लाई ध्यानमा राखी खेलकुदको संरचना निर्माण गर्न लागेका हौं । यसका लागि ६ अर्ब रुपैयाँ खर्च हुनेछ । त्यो रकम सरकारले खर्च गर्नेछ । सरकारको लगानीमा तीन वर्ष्भित्र मल्टी इयर बजेटमा यो संरचना बनाउन लागिएको हो,’ विष्टले भने । संस्थानका कार्यकारी प्रमुख चौधरीले प्रयोगमा नआएको जग्गा खेलकुदलाई दिँदा दोहोरो फाइदा हुने बताए ।

राखेपका सदस्यसचिव विष्टले गुठी संस्थानसँग उक्त जग्गा लिन दुई वर्षदेखि थालिएको प्रयास साकार भएको बताए । उनले संरचनाका लागि छिट्टै डीपीआर तयार गरिने जानकारी पनि दिए । राखेपले स्टेडियम परिसरमा व्यापारका लागि सटर निर्माण गरी भाडामा लगाउने जानकारी पनि विष्टले दिए । स्टेडियम बनेर व्यावसायिक प्रयोजनमा आएपछि गुठी संस्थानलाई त्यसबाट आउने प्रतिफलको २५ प्रतिशत रकम उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।

उक्त जग्गामा ६ अर्ब रुपैयाँको लागतमा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियम निर्माण गरिने जानकारी सदस्यसचिव केशवकुमार विष्टले दिए । यसैगरी बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर पनि निर्माण गरिने छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved